काठमाण्डु – अध्ययन विदामा विदेश गएर उतै हराएका निजामति कर्मचारीको सरकारले खोजी थालेको छ । अध्ययन विदाको सुविधा लिएर विदेश गएका कर्मचारी उतै हराउन थालेपछि सरकारले खोजी सुरु गरेको हो ।
अध्ययन विदामा गएर विदेशमा हराउने निजामति कर्मचारीको संख्या बढेपछि सरकारले सूचना प्रकाशित नै गरेर त्यस्ता कर्मचारी खोज्न थालेको हो । अध्ययन विदामा विदेश गएर उतै हराउने मध्येका एक हुन्, खानी तथा भूगर्भ विभागका इन्जिनियरिङ सेवा, मेटालर्जी समूहका धर्मेन्द्र ठाकुर । उनले अध्ययन विदा भन्दै १८ जेठ २०६७ मा अन्तिम पटक एक वर्षका लागि विदा लिएका थिए ।
एक वर्षका लागि विदामा बसेका उनी १० वर्ष वितिसक्दा पनि कार्यालयमा हाजिर भएका छैनन् । १८ जेठ २०६६ देखि एक वर्षका लागि विदामा बसेका ठाकुर थप एक वर्षका लागि असाधारण बेतलवी विदा स्वीकृत गराएर गायब भएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेवाबाट हटाउनु नपर्ने कुनै कारण भए ३० दिनभित्र स्पष्टीकरण पेस गर्न जानकारी गराएको छ । भूगर्भ विभागका प्रवक्ता जयराज घिमिरेले ठाकुर अध्ययन विदामा नेदरल्याण्ड गएको र हालसम्म कार्यालयमा हाजिर नभएको बताए । ठाकुर हाल अमेरिकामा बस्ने गरेको उनले जानकारी दिए ।
‘बीचमा आएर राजीनामा दिएको तर हस्ताक्षर सनाखत हुन छुटेको भन्ने सुन्नमा आएको छ,’ घिमिरेले भने, ‘लामो सयमदेखि सम्पर्कमा नआएकाले सरकारले जागिरबाट किन नहटाउने भनेर सूचना पनि निकाएको छ ।’ घिमिरका अनुसार ठाकुरको नाममा मन्त्रालयले यो तेस्रोपटक सूचना निकालेको हो । यसअघि उनको फाइल मन्त्रालयमा हराएको थियो ।
भूगर्भ विभागको कर्मचारी प्रशासन महाशाखा प्रमुख दिनेश नेपालीले सोही विभागमा कार्यरत जियोलोजिस्ट रोशन कोइराला पनि अध्ययन विदामा विदेशमा गएको र उतै हराएको जानकारी दिए । ३ वर्षका लागि अध्ययन विदामा अमेरिका गएका कोइराला साढे ३ वर्षमा पनि सम्पर्कमा नआएपछि मन्त्रालयले सूचना नै प्रकाशन गरेर खोजी गरिरहेको छ ।
सरकारले दिएको सुविधा उपभोग गर्दै निजामति कर्मचारी विदामा बसेर विदेश जाने र उतै बस्ने गरेका छन् । निजामति कर्मचारी ऐनमा कुनै कर्मचारी बिना सूचना ९० दिनसम्म हराएमा सरकारले कारवाहीको लागि आवश्यक प्रक्रिया सुरु गर्न पाउने व्यवस्था छ ।




प्रतिक्रिया