जयसिंह धामी घटनालाई थामथुम पार्न खोजियो, यथाशिघ्र सत्यतथ्य सार्वजनिक गरियोस् : एमाले

जयसिंह धामी घटनालाई थामथुम पार्न खोजियो, यथाशिघ्र सत्यतथ्य सार्वजनिक गरियोस् : एमाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले जयसिंह धामी तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन अस्पष्ट रहेको बताएको छ ।एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै जयसिंह धामी तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन हेर्दा सरकारले यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको बताएका छन् ।

धामीको सम्बन्धमा गृह मन्त्रालयका सहसचिव जर्नादन गौतमको संयोजत्वमा गठित छानविन समितिले गत १५ भदौमा गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको थियो । ‘आफ्नो नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशंका पैदा भएको छ’, ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नागरिकको जीवनसँग जोडिएको गंभीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै एमालेले उक्त घटनाको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न, दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेको छ ।

१५ साउन २०७८ मा महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर दार्चुलाको व्यास गाउँपालिकाका– २ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । उनी बेपत्ता भएको एक महिनापछि छानविन समितिले प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएकाले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न र धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्ने उल्लेख छ । साथै, उनका परिवारलाई सरकारका तर्फबाट पालनपोषण र शिक्षा–दीक्षाको व्यवस्थापन गर्न समितिले सरकारलाई सिफारिस पनि गरिएको छ ।

यता भारतले भने धामी प्रकरणमा छानविन समितिको प्रतिवेदनबारे नेपालबाट हालसम्म कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ । मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले प्रतिवेदनबारे मिडिया रिपोर्टहरुमा सुने पनि औपचारिक जानकारी नभएको बताए । ‘हामीले पनि मिडिया रिपोर्टसमा देख्यौं । तर हामीसँग यस्तो कुनै खबर आएको छैन । विस्तृत विवरण आएको छैन । औपचारिक रुपमा केही आएको छैन । नेपालको आन्तरिक छानविन प्रतिवेदनबारे हामीलाई कुनै जानकारी छैन । अरु कुनै खबर छैन,’ उनले भने ।