काठमाण्डु – भारतले नेपालको स्वीकृतिबीना नेपाली आकाशमा भारतीय हेलिकप्टर उडाएको छ । दार्चुलाको सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको गुरु गुल्म हेडक्वार्टर, लेकम, मालिकार्जुन, महाकाली, दुहुँ र व्यास गाउँपालिका क्षेत्रको आकाशमा भारतले पटक–पटक अनाधिकृत रुपमा भारतीय हेलिकोप्टर उडाएको हो ।
भारतले खलंगाको बस्तीसहित नेपाली सेनाको ब्यारेकमाथि अनधिकृत रूपमा बुधवार र बिहीवार दुवै दिन ‘तीन चार पटक’ निरन्तर हेलिकोप्टर उडाएपछि उक्त विषयमा सर्वत्र आलोचना सुरु भएको छ । यसबारेमा तत्काल भारतसँग कूटनीतिक जवाफ माग्न गृह मन्त्रालय र नेपाली सेनाले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण समेत गराएका छन । तर, तुइन प्रकरणमै कूटनीतिक पहल गर्न नसकेको सरकारले हेलिकोप्टर प्रकरणलाई कसरी लिने हो ? यसबारे भने स्पष्ट भइसकेको छैन ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले नेपाली आकाश हुँदै अनधिकृत रूपमा हेलिकोप्टर उडाएको विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताए । ‘अनुमतिबीना भारतीय हेलिकोप्टर नेपाली आकाशमा उड्नु गम्भीर र संवेदनशील विषय हो। हामी चुप लागेर बसेका छैनौं । हामीले यसबारेमा पहिला हाम्रो निकायसँग बुझ्दैछौं । सरकारले आफ्नो जिम्मेवारी पुरा गर्छ,’ उनले भने ।
दार्चुलास्थित सुरक्षा समितिले उक्त घटनाक्रमबारे गृह मन्त्रालयलाई बिहीवार नै जानकारी गराएको थियो । तर गृह मन्त्रालयका प्रवक्ताले उक्त घटनाबारे आफूहरूले बुझिरहेको र त्यस सम्बन्धी समाचार विवरणहरूलाई गम्भीरतापूर्वक लिएको बताए ।
भारतीय हेलिकोप्टर केही दिनयता नेपाली आकाशमा निरन्तर उडेको विषयमा समाचार सार्वजनिक भएपछि राजनीतिक दलका नेता–कार्यकर्ता, विभिन्न पेसाकर्मी/बुद्धिजीवी, सर्वसाधारणलगायतले भारतीय प्रवृत्तिको विरोध गरेका छन् । सत्ता गठबन्धनको नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थीले शुक्रबार काठमाण्डुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहनसमेत गरेका छन् ।
यता, दार्चुलाका जयसिंह धामी प्रकरणमा समेत सरकार मौन छ । महाकाली तुइन प्रकरणका सम्बन्धमा छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा भारतीय सुरक्षाकर्मीले तुइन चुँडाली दिएका कारण धामीको मृत्यु भएको ठहर गरेको छ । तर, यस घटना सम्बन्धमा सरकारले कुनै कुटनीतिक पहल गरेको छैन ।
परराष्ट्रमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना नागरिक महाकालीमा बेपत्ता भएको विषयमा एक महिनासम्म पनि भारतलाई जानकारी नगराएपछि यस घटनालाई थामथुम गर्ने प्रयास गरेको आराेप लाग्न थालेको छ । १५ साउन २०७८ मा महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर दार्चुलाको व्यास गाउँपालिकाका–२ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । एक महिना वितिसक्दासमेत धामीको अवस्था अझै अज्ञात छ ।
एसएसबीले ‘तुइन काटिदिएपछि दार्चुलाको सदरमुकाम खलङ्गा आउन लागेका दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको’ भनेर ठूलो चर्चा पाइरहेको घटना सेलाउन नपाउँदै यो नयाँ हेलिकोप्टर विवाद प्रकरण सतहमा आएको हो ।
जनमोर्चाको आपत्ति
नेपालको स्वीकृतिबिना नेपाली आकाशमा भारतीय हेलिकप्टर प्रवेश गरेकोप्रति राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ । दार्चुला जिल्लाको सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको गुरु गुल्म हेडक्वार्टर, लेकम, मालिकार्जुन, महाकाली, दुहुँ र व्यास गाउँपालिका क्षेत्रको आकाशमा पटक–पटक भारतीय हेलिकोप्टर उडेको समाचार सार्वजनिक भएकोबारे पार्टीले ध्यानाकर्षण भएको जनाएको हो ।
‘नेपालको स्वीकृतिबिना नेपालको आकाशमाथि भारतीय हेलिकोप्टर उडाउने कार्य गरेर भारतले अन्तर्राष्ट्रिय नियमको उल्लङ्घन गर्नुका साथै नेपालको राष्ट्रियता तथा सार्वभौमिकता र अखण्डतामाथि चुनौती दिएको छ । भारतको उक्त हस्तक्षेपकारी कार्यको हाम्रो पार्टीले घोर विरोध तथा भर्त्सना गर्दछ । त्यस प्रकारका हर्कत नगर्न नेपाल सरकारले भारतीय पक्षसँग दृढतापूर्वक कूटनीतिक पहल गर्नुपर्ने कुरामा जोड दिन्छौँ,’ महासचिव मनोज भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया