काठमाण्डु – सरकारले संघीय संसद्को अधिवेशन बोलाउने तयारी थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अधिवेशन बोलाउनका लागि सभामुख अग्निप्रसाद सापकोटा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका छन् ।
आज बिहान भएको छलफलमा सहभागी सरकारका प्रवक्ता एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद अधिवेशन बोलाउनेबारे छलफल भएको बताए । उनले शीर्ष नेताहरुबीच भएको छलफलमा के कस्ता सहमति भए भन्नेबारे भने केही खुलाउन चाहेनन् ।
बैठकमा सत्तारुढ गठबन्धनको एकता, सरकारका कामकारबाहीमा प्रभावकारिता र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलपल भएको थियो । देउवाको नेतृत्वमा गत असार २९ गते नयाँ सरकार गठन भएपछि अघिल्लो सरकारले गत जेठ १५ गते अध्यादेशबाट जारी गरेको बजेटलाई आवश्यक परिमार्जन गरी नयाँ कार्यक्रम दिन अधिवेशन आह्वान गर्न लागिएको हो ।
संसद्को अधिवेशन प्रारम्भ भएको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन वा निस्कृय तुल्याउनपर्ने संवैधानिक व्यवस्था छ । सर्वोच्च अदालतको आदेशानुसार प्रधानमन्त्री देउवालाई विश्वासको मत परीक्षण गर्ने सन्दर्भमा साउन ३ गते आह्वान भएको अधिवेशन साउन ३२ गते अन्त्य भएको थियो । अधिवेशन प्रारम्भ भएकै दिन अर्थमन्त्री जनार्दन शर्माले सदन समक्ष आर्थिक अध्यादेश, विनियोजित अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश पेश गरेका थिए ।
ती अध्यादेशबारे असोज ३ गतेभित्र छिनोफानो गर्नुपर्ने भएकाले संसद्को अधिवेशन आह्वानका लागि गृहकार्य भएको हो । त्यस्तै प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्र एमसीसी सम्झौता पास गराउने विषयलाई छलफलको मुख्य विषय बनाएका छन् । एमसीसी पास गर्नकै लागि संसद् अधिवेशन बोलाउनुपर्ने प्रधानमन्त्री देउवाको जोड छ ।




प्रतिक्रिया