काठमाण्डु – दोस्रो पटक नेकपा एमाले परित्याग गरेका वामदेव गौतम हाल स्वतन्त्र छन् । शुक्रवार नेकपा एमालेबाट राजीनामा दिएका गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्न ४ वटा शर्त राखेका छन् ।
एमालेबाट पनि राजीनामा दिइसकेको अवस्था र यथास्थितिमा एकीकृत समाजवादीमा पनि जान शर्तहरू नमिलेका कारण उनी गन्तव्य विहीन भएका हुन् । नेकपा (एस) का अध्यक्ष नेपालसँग चारवटा शर्त राखेका गौतमले शुक्रवार एमालेको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएको भन्दै राजीनामा दिएका थिए ।
गौतम एमालेमा उपाध्यक्षको जिम्मेवारीमा थिए । अध्यक्ष केपी शर्मा ओलीको गलत विचार, प्रवृती र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भन्दै उनले उपाध्यक्ष र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको पत्र पार्टी कार्यालय सचिवलाई बुझाएका थिए । एमालेमा अन्तरसंघर्ष चर्किरहेका बेला गौतमले पटकपटक माधव नेपालले पार्टी फुटाए साथ दिने अभिव्यक्ति दिएका थिए । माधव नेपालले २ भदौमा नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी बनाएका छन् ।
तर लामो समय नेपालसँगै रहेका दोस्रो पुस्ताका नेताहरू एमालेमै बस्ने निर्णयमा पुगेका छन् । गौतमले पनि बोली फेरेका छन् । उनले एकीकृत समाजवादीमा आउन शर्त अघि सारेका छन् । बिहीबार मात्र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेका गौतमले जनताको (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, सङ्घीयताबारे पुनर्विचार गर्नुपर्ने लगायतका शर्त राखेका छन् ।
‘राजीनामा दिनुभन्दा पहिला वामदेवजीले चारवटा शर्त राख्नु भएको थियो,’ समाजवादीका नेता बेदुराम भुसालले सञ्चारकर्मीसँग भने, ‘उहाँले राखेका शर्तका बारेमा पार्टीमा छलफल भइरहेको छ ।’ उनका अनुसार सो शर्त पूरा भएमा मात्रै आफू नेकपा एसमा आउने गौतमको भनाइ छ ।
गौतमले संविधानमा उल्लेख भएको शासकीय स्वरुपलाई परिवर्तन गर्नुपर्ने पहिलो सर्त राखेका छन् । अहिले ‘सुधारिएको संसदीय व्यवस्था’लाई परिवर्तन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्न नेकपा (एस) मञ्जुर भएमा सो पार्टीमा प्रवेश गर्ने पहिलो शर्त छ । त्यसका बारेमा नेकपा (एस)का अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ दिएका छन् ।
त्यसैगरी गौतमले हालको निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने दोस्रो शर्त राखेका छन् । संविधानमा भएको प्रत्यक्ष निर्वाचित र समानुपातिक निर्वाचन प्रणाली दुवै परित्याग गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई नेकपा (एस)ले स्वीकार गरे आफू नेपालसँगै रहने उल्लेख गरेका छन्। गौतमको उक्त शर्तमा पनि पार्टीभित्र छलफल गरेर जवाफ दिने अध्यक्ष नेपालले जनाएका छन् । संविधान संशोधन गरेर शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने शर्त राखेका गौतमले संघीयताको स्वरुप परिवर्तन गर्न नेकपा (एस) तयार हुनुपर्ने अर्को शर्त पनि राखेका छन् ।
हालको संघीय स्वरूपले मुलुकको हित नहुने भन्दै नयाँ संघीयताको स्वरुप परिवर्तन गर्न नेकपा (एस) मञ्जुर भए अध्यक्ष नेपालसँगै रहने गौतमाले बताएका छन् । गौतमका राखेका शर्तमा नेता नेपालले पार्टीभित्र छलफल गर्ने जनाए पनि पार्टीको कार्यदिशा र मार्गदर्शक सिद्धान्तमा भने नेपाल–गौतम नजिक नजिक देखिएका छन् । जननेता मदन भण्डारीद्वारा प्रतिवादित जनताको बहुदलीय जनवाद (जबज) लाई नेकपा (एस) ले मार्गदर्शन सिद्धान्त मानेमा आउन सक्ने जनाएपछि अध्यक्ष नेपालले त्यसमा ‘विचार गर्ने’ जनाएका छन् ।
‘नेकपा एसको अबको कार्यदिशा जबजको जगमा नै बनाउने हो तर त्यसलाई थोरै परिवर्तन र विकास गर्नुपर्ने हुन्छ,’ नेता नेपाललाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘जबज छाडिन्न, यसैको जगमा पार्टीको कार्यदिशा बनाउने हो, यसमा ढुक्क हुनुहोस ।’ जबजलाई अध्यक्ष नेपालले स्वीकार गर्ने जनाएपछि चार शर्त मध्ये एक शर्तमा दुई नेताको बीचमा सहमति भएको छ । छलफलमा नेपालले गौतमलाई एमाले परित्याग गरेर आएमा वरिष्ठ उपाध्यक्ष वा एकल उपाध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । अध्यक्ष नेपालले आफूपछि वरिष्ठ नेतामा झलनाथ खनाल र तेस्रो स्थानमा गौतमलाई राख्न मञ्जुर भएका छन् ।




प्रतिक्रिया