नेप्सेमा नकारात्मक सर्किट, गभर्नर अधिकारीको राजीनामा मागियो

नेप्सेमा नकारात्मक सर्किट, गभर्नर अधिकारीको राजीनामा मागियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साताको पहिलो कारोबार दिन आज आइतबार नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेको छ । आज बजार खुलेको २ घण्टा बित्न ५ सेकेन्ड बाँकी हुँदा नेप्से ५.०३ प्रतिशतले घटेर नकारात्मक सर्किट ब्रेक लागेको हो ।

सर्किट ब्रेक लागेसँगै बजार ४० मिनेटको लागि बन्द भएको नेप्सेले जनाएको छ । सो अवधिसम्ममा २१५ कम्पनीको कारोबारमा ७ अर्ब १९ करोड ९० लाख ३५ रुपैयाँ बराबरको १ करोड ४८ लाख ३१ हजार कित्ता शेयर खरिद–बिक्री भएको छ । जसमध्ये ५ कम्पनीको मात्र शेयर मूल्य बढेको छ ।

यता सेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि निराश भएका लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामालाई मुख्य मागको रुपमा राख्दै विभिन्न १५ बुँदे माग राखेको छ ।

समितिले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्नेलगायतका माग अघि सारेको छ । लगानीकर्ताहरुले पुँजी बजारमा नकारात्मक प्रभाव पार्ने काम गरेको भन्दै अधिकारीलाई हटाउन दबाब दिएका हुन् ।