काठमाण्डु – संसदीय विशेष समितिमा चारवटा विधेयकमाथि दफाबार छलफल सुरु भएको छ।
महिला तथा सामाजिक मामिला समितिले समितिमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयकमा संशोधनकर्ता सहित दफावार छलफल सुरु भएको हो ।
अर्थ समितिमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि संशोधन प्रस्ताव दर्ता गर्ने संशोधनकर्तासँग छलफल अघि बढेको समितिले जनाएको छ।
यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चलचित्र विधेयकमाथि छलफल अघि बढाएको छ । यसबारे छलफल गर्न सोमबार बिहान ११ बजे बैठक बोलाइएको हो।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३माथि विज्ञहरुसँग छलफल अगाडि बढाएको समितिको भनाइ छ। प्रधानमन्त्री बालेन्द्र शाह सहित दुई मन्त्रीहरू अहिले भारत भ्रमणमा छन्। यता राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना सांसदहरू पनि चीन भ्रमणमा पुगेको देखिन्छ ।
तर समितिमा काम र बैठक भने नअड्किएको बताइएको छ। चारवटै विधेयकमाथि दफाबार छलफल गर्न सिंहदरबारमा बैठक सुरु भएको छ।
अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदनमा ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् ।



प्रतिक्रिया