प्रधानमन्त्रीको भारत भ्रमण

एयर रुटको प्रस्तावमा सहमति जुटेन, मोदी-बालेन भेटबाट टुंगो लाग्ने अपेक्षा

एयर रुटको प्रस्तावमा सहमति जुटेन, मोदी-बालेन भेटबाट टुंगो लाग्ने अपेक्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाललाई नयाँ हवाई प्रवेश मार्ग (एयर रुट) उपलब्ध गराउने विषयमा दुई देशबीच सहमति जुट्न सकेको छैन।

यस विषयमा दुवै पक्षबीच छलफल र वार्ता जारी रहे पनि प्राविधिक तहमा सहमति हुन नसकेपछि अब प्रधानमन्त्रीस्तरको भेटवार्ताबाट टुंगो लाग्ने अपेक्षा गरिएको छ।

भारतले नयाँ एयर रुट उपलब्ध गराउने प्रस्तावलाई बागडोगरासहितको प्याकेजमा राखेर छलफल अघि बढाएको छ। तर, नेपाली पक्षले उक्त प्रस्तावमा असहमति जनाएको छ।

परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्र सचिव अमृत राईले अनौपचारिक रूपमा समेत भारतीय पक्षसँग यस विषयमा वार्ता जारी राखेका छन्।

नेपालले महेन्द्रनगरबाट प्रवेश गर्ने एयर रुट ३१, ३३ र ३५ हजार फिटको उचाइमा उपलब्ध गराउनुपर्ने अडान राख्दै आएको छ।

भैरहवाका लागि भने नयाँ कनेक्टर थपेर भए पनि हवाई मार्ग उपलब्ध गराउन भारत सकारात्मक देखिएको छ।

तर, बागडोगरा विमानस्थलबाट नेपाली आकाश प्रयोग गर्ने गरी एयर रुट उपलब्ध गराउने प्रस्तावमा नेपाली पक्ष सहमत छैन। यस विषयमा थप प्राविधिक अध्ययन आवश्यक रहेको जवाफ नेपालले भारतलाई दिएको छ। त्यस्तै, जनकपुर–पटना हवाई मार्ग उपलब्ध गराउने विषयमा भने भारत सकारात्मक देखिएको छ।

प्राविधिक तहमा सहमति जुट्न नसकेपछि अब यो विषय दुवै देशका प्रधानमन्त्रीबीच हुने छलफलमा निर्भर रहनेछ। प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपालले सबैभन्दा बढी प्राथमिकतामा राखेको एजेण्डा नै नयाँ एयर रुट प्राप्त गर्ने विषय हो।