एमसीसीको विरोधमा उत्रिए २२ दल, देशभर उच्च सुरक्षा सतर्कता

एमसीसीको विरोधमा उत्रिए २२ दल, देशभर उच्च सुरक्षा सतर्कता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित २२ दलीय गठबन्धन अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा उत्रिएका छन् ।

सरकारले एमसिसी जसरी पनि संसद्बाट अनुमोदन गराउने तयारी थालेपछि २२ दलीय संगठन विरोधमा उत्रिएका हुन् । उनीहरुले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एमसीसीको विरोधमा एक ढिक्का हुन आह्वान गरेका छन् ।

साथै २२ दलिय संगठनले २३ गते बुधबार मध्यान्ह माइतीघर मण्डलामा एमसीसी खारेजी आन्दोलनको ब्यानरमा संयुक्त बिरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।

एमसिसीका विषयमा सरकारी अधिकारीसँग छलफल गर्न एमसिसी उपाध्यक्ष फतिमा सुमार मंगलबार काठमाण्डु आउँदैछिन् । त्यसको भोलिपल्ट २२ संगठनले विरोध प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।

प्रदर्शन माइतीघर मण्डलाबाट–याली/जुलुस सहित नयाँ बानेश्वरमा पुगी बिरोध सभामा परिणत हुने संगठनले जनाएको छ । साथै उनीहरुले उक्त संयुक्त बिरोध सभामा उपस्थितिको निम्ति अपिल समेत गरेका छन् । देशका सबै जिल्लाहरुमा सम्बन्धित दलहरुले ब्यापक जनसहभागितामा एमसीसी खारेजीको निम्ति कार्यक्रम गरिने निर्णय समेत गरेका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पछिल्लो केही दिनयता राष्ट्रिय जनमोर्चाबाहेकका गठबन्धनका दलहरुबीच एमसिसीबारे छलफल भएको, एमसिसीको विज्ञापन प्रसारण भएको, एमसिसी अमेरिकाका उपाध्यक्ष चाँडै नेपाल आउने, अमेरिकाले एमसिसीलाई संसदबाट पारित गराउन दिएको दबाब र चर्चाले एमसीसीलाई पारित गर्न चलखेल भएको बताए । उनले एमसीसीविरुद्ध देशव्यापी सांकेतिक विरोधको कार्यक्रम गर्न लागिएको समेत जानकारी दिए ।

एमसीसीको विरोधमा उत्रिएका २२ दल

एमसीसीको विरोधमा उत्रिएका २२ राजनीतिक संगठनहरु नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), नेकपा (माओवादी मोर्चा) रहेका छन् ।

त्यस्तै, गठबन्धनमा राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्कसवादी एकता अभियान, नेकपा (मार्कसवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् ।

देशभर सुरक्षा सतर्कता

सरकारले एमसिसी जसरी पनि संसद्बाट पारित गराउने तयारी थालेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । संसदमा एमसिसी अनुमोदनका लागि पेस भएपछि देशव्यापी आन्दोलन चर्किने सम्भावनालाई मध्यनजर गर्दै गृह मन्त्रालयले चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको हाे।

उच्च स्रोतका अनुसार एमसिसीविरुद्ध आन्दोलन भइरहेको भन्दै मन्त्रालयले यो महिनाभरि नै हाई अलर्टमा रहन निर्देशन दिएको छ । सरकारले सुरक्षा निकायलाई हाई अलर्टमा मात्रै राखेको छैन, विज्ञप्ति जारी गरेर एमसिसी र भारतको विरोध नगर्न चेतावनी समेत दिएको छ ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले विसं २०७४ सालको भदौ २९ गते एमसीसी सम्झौता गरेको थियो । ५० करोड अमेरिकी डलरको एमसिसी परियोजना नेपालमा लागु गर्ने विषयमा सम्झौता भएपनि हालसम्म पनि संसद्बाट अनुमोदन हुन सकेको छैन । एमसीसी परियोजना लागु गर्ने बारेमा नेपालमा बिवाद भइरहेको बेला एमसीसीकी उपाध्यक्ष सुमार मंगलबार नेपाल भ्रमणमा आउँदैछिन् ।

सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरुसँग भेटन गर्ने कार्यक्रम छ ।

उनले शीर्ष नेताहरुसँग भेटेर एमसिसी संसद्बाट अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गर्नेछिन् । एमसिसी उपाध्यक्ष सुमार नेपाल आउने, त्यसकै भोलिपल्ट संसद् अधिवेशन बोलाउनु र सुरक्षा अवस्था कडा राख्न निर्देशन दिनुलाई पनि एमसिसी संसदमा टेबुल हुने संकेत देखिन्छ ।