काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । गत साउन ३ गते प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएको महन्थ ठाकुर नेतृत्वको लोसपाले सरकारमा सहभगाी नहुने निर्णय गरेको हाे ।
देउवालाई समर्थन गरेका हिसाबले लोसपा पनि सरकारमा सहभागी हुने आँकलन गरिएपनि प्रतिपक्षमा बस्ने लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए । उनले आफूहरु संसदमा प्रतिपक्षी दलको भूमिकामा प्रस्तुत हुने जानकारी दिए ।
‘देउवाजीलाई विश्वासको मत दिएको भए पनि संसदमा भने हामी प्रतिपक्षको भूमिका रहने निर्णय लिएका छौँ,’ महतोले भने, ‘देउवा सरकारको गुण र दोषको आधारमा प्रतिपक्षमा बसेर लोसपाले संसदमा भूमिका निभाउने छ ।’
उनले संसद सचिवालयलाई पनि प्रतिपक्ष दलतर्फको सिट व्यवस्थापन गर्न अनुरोध गरिएको बताए । सो माग बमोजिम संसद सचिवालयले पनि लोसपालाई प्रतिपक्षीतर्फको कुर्सी व्यवस्थापन गरेको प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।
जनता समाजवादी पार्टी (जसपा)बाट फुटेर महन्थ ठाकुर निर्वाचनमा आयोगमा लोसपा दर्ता गरेका थिए । प्रधानमन्त्री देउवाले संसद वा केन्द्रीय कमिटीमा २० प्रतिशत भए पार्टी फुटाउन मिल्नेगरी अध्यादेश ल्याएपछि ठाकुर र एमालेका माधव नेपालले नयाँ पार्टी दर्ता गरेका हुन् ।
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सत्ता गठबन्धनमा सामेल भइसकेको छ । नेकपा एसले चाँडै नै आफूहरु सरकारमा सहभागी हुने बताउँदै आएको छ ।




प्रतिक्रिया