काठमाण्डु – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद विस्तार गरेकी छन् । मुख्यमन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री थप्दै १२ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेकी हुन् ।
एमालेको माधव नेपाल समूह छोडेकी रचना खड्का अर्थमन्त्री बनेकी छन् । त्यस्तै केशवराज पाण्डे भौतीक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका छन् ।
विजय सुबेदी सामाजिक विकास मन्त्रालय, शान्तिप्रसाद पौडेल उद्योग तथा पर्यटन, प्रदिप कुमार कटुवाल क्षेत्री स्वास्थ्य मन्त्रालाय, डा. अजय क्रान्ति शाक्य कानुन मन्त्री, चन्द्र लामा भूमि तथा कृषि मन्त्री, जिवन खड्का भौतिक पूर्वाधार राज्यमन्त्री, सरस्वती बाटी उद्योग तथा पर्यटन राज्यमन्त्री, जुनेली श्रेष्ठ सामाजिक विकास मन्त्रालय, बद्रि मैनाली भूमी व्यवस्था तथा कृषि मन्त्रीमा नियुक्त भएका छन् ।
भदौ २ गते मुख्यमन्त्री बने लगत्तै शाक्यले २ जना मन्त्री नियुक्त गरेकी थिइन् । २ जना मन्त्रीमध्ये सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले माधव नेपाल नेतृत्वको पार्टीमा सनाखत गर्दै पदबाट राजीनामा दिइसकेका छन् भने अर्का मन्त्री केशव राज पाण्डेले सरकारको प्रवक्ताको जिम्मेवारीसहित आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्दै आएका छन् । अन्य मन्त्रालय भने मुख्यमन्त्री शाक्य आफैले सम्हाल्दै आएकी थिइन् ।
यता बागमती प्रदेश सरकारको नेतृत्व गरेको एक सातामै उनी अल्पमतमा परेकी छन् । नेकपा एमाले विभाजनपछि शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । लामो समय एमालेमा माधवकुमार नेपालको पक्षमा रहँदै आएकी उनी प्रदेश सरकारको नेतृत्व गर्नुअघि एमालेमै रहने निर्णयमा पुगेकी थिइन् ।




प्रतिक्रिया