एमसीसी उपाध्यक्ष फातिसहितको टोली काठमाण्डु आइपुग्यो, सुरक्षा व्यवस्था कडा

एमसीसी उपाध्यक्ष फातिसहितको टोली काठमाण्डु आइपुग्यो, सुरक्षा व्यवस्था कडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमारसहितको टोली काठमाण्डु आइपुगेको छ । चार दिने भ्रमणका क्रममा काठमाण्डु आएकी उपाध्यक्ष सुमारको साथमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि रहेका छन् ।

नेपालमा एमसीसी गिजोलिएका बेला परियोजनाको पछिल्लो अवस्था बुझ्न उनी नेपाल आएकी हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई भेट्ने कार्यक्रम छ ।

‘एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्ने’ भन्दै एमसीसीले बुधबार मात्र नेपाल सरकारलाई जवाफ फर्काएको थियो ।

एमसीसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल आएकी हुन् । नेपालमा एमसीसी संसदबाट पारित गर्नु पर्ने भनिए पनि विवाद चर्किएको छ । कारण सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।

सुरक्षा व्यवस्था कडा

राजधानी काठमाण्डुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । एमसीसी उपाध्यक्ष सुमारको नेपाल भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको हो ।

नेपालमा एमसीसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आँकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पनि सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

सुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मेरिट होटलमा गएकी छन् । उक्त रुटमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।