प्रचण्डसँग एमसीसी उपाध्यक्षले भनिन्ः म दबाब दिन आएको होइन

प्रचण्डसँग एमसीसी उपाध्यक्षले भनिन्ः म दबाब दिन आएको होइन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चार दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले राजनीतिक भेटघाट तीव्र पारेकी छन् ।

प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी ओलीलाई भेटेर राजनीतिक भेट यात्रा थालेकी उनी सत्तासीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न शुक्रबार बिहान खुमलटार पुगेकी हुन् ।

भेटवार्तामा अध्यक्ष प्रचण्डले एमसीसी राष्ट्रिय सहमति गरेर पारित गर्ने बचन दिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

‘परियोजनाका विषयमा नेपालका राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति गरेर अगाडि बढ्दा राम्रो हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भने, ‘अहिलेको गठबन्धनमा पनि एक खालको साझा धारणा बनाएर अगाडि बढ्दा नै राम्रो हुन्छ ।’

उपाध्यक्ष सुमारले दलहरुलाई दबाब दिन नआएको भन्दै नेपालका राजनीतिक दलका शीर्ष नेताले सहमति गरेर एमसीसी परियोजना अगाडि बढ्ने विश्वास व्यक्त गरेकी थिइन् ।

‘मलाई यहाँ दलहरूलाई दबाब दिन आएको भनेका छन् । तर म यहाँका राजनीति दललाई दबाब दिन होइन । भेटघाट र छलफल गर्न आएको हुँ । दबाब दिने मेरो कुनै उदेश्‍य छैन । नेपालका राजनीतिक दलका शीर्ष नेताले सहमति गरेर एमसीसी परियोजना अगाडि बढाउनु हुन्छ भन्‍नेमा ढुक्‍छ छौँ,’ उनले भनिन् ।

फतिमाले बिहीबार नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवसँग पनि भेट गरेकी थिइन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मासहितलाई पनि भेट्ने कार्यक्रम छ ।