काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डललाई पूर्णता दिनुपर्ने बताएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा देउवाले मन्त्रीको नाम चाँडै बुझाउन दलहरुलाई आग्रह गरेका छन् ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएकाले चाँडै नाम उपलब्ध गराउन आग्रह गरेको बताइन् ।
‘मन्त्रिमण्डल विस्तारमा ढिला भइसकेको छ । अब चाँडै मन्त्रिमण्डललाई पूर्णता दिनुपर्नेछ । तपाईहरुले पार्टीभित्र छलफल गरेर चाँडै मन्त्रीको नाम टुंगो लगाउनूस्,’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै उपाँध्यक्ष पौडेलले भनिन् ।
बैठकमा प्रधानमन्त्रीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो ।
गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ५० दिन बितिसक्दासमेत मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । दलहरूबीच मन्त्रालयमा भागबन्डा मिल्न नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन् । नेकपा एस र जसपाबीच मन्त्रालयका विषयमा विवाद सिर्जना भएपछि मन्त्रिमण्डल विस्तारको कामले पूर्णता पाउन नसकेको हो ।




प्रतिक्रिया