काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता युवराज दुलालले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन संसदबाट पारित हुन नदिने बताएका छन् ।
शुक्रबार बिहान एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्तापछि उत्पन्न आशंकाबारे जवाफ दिँदै नेता दुलाले माओवादी केन्द्र सरकार बाहिर बस्ने तर, एमसीसी पारित हुन नदिने पक्षमा रहेको बताए ।
बागमती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका नेता दुलालले माओवादी केन्द्र राष्ट्रिय सुरक्षामा चुनौतिपूर्ण संशय रहेको एमसीसी पारित गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
‘चर्चा तस्विर कुटनीतिको छ यतिबेला । माओवादी केन्द्रले सरकार बाहिर छँदा पनि एमसीसी यथास्थितिमा पास हुँदैन भनेकै हो । सभामुख महरा र सभामुख सापकोटा मार्फत केपी ओली सरकारको चर्को दवावलाई सामना गरेर रोकेकै हो र अहिले सरकारमा छँदा पनि बृहत राष्ट्रिय सहमति नभई यथास्थितिमा पास गर्न सकिँदैन भनेकै हो । यथास्थिति र राष्ट्रिय सहमति कुटनीति भाषा हुन् । माओवादी राष्ट्रिय सुरक्षामा चुनौतिपूर्ण संशय रहेको एमसीसी पारित गर्ने पक्षमा छैन, माओवादी सरकार छोडेर बरु सडकमा आउँछ तर एमसीसी पारित गर्दैन । स्पष्ट बिचार र राष्ट्रियताको सवालमा विदेशीसामु झुक्न हुँदैन भनेर स्पष्ट धारणा बोकेको पार्टी हो माओवादी,’ उनले भनेका छन् ।




प्रतिक्रिया