काठमाण्डु- नेपाल रोलिङ्ग मिल्स एशोसिएसनले सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत नेपालभित्रै डण्डी उत्पादनलाई प्रोत्साहन गर्नका लागि गरेको नयाँ प्रावधानले स्वदेशी उत्पादन बढाउन सहयोग पुग्ने दावी गरेको छ । संघले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको नयां प्रावधानले देशभित्र औद्योगिक वातावरण बनाउन सहयोग पुग्ने उल्लेख गरिएको छ ।
उक्त विज्ञप्तिमा भनिएको छ ‘सरकारले स्वदेशभित्रै विलेट उत्पादन गर्नका लागि कच्चा पदार्थ स्पन्ज आइरन आयातमा लाग्दै आएको भन्सारलाई शुन्यमा झार्नु स्वागत योग्य कदम हो । यसले देशभित्रै कच्चा पदार्थ मार्फत विलेट उत्पादन गर्न र सो बिलेटमार्फत स्वदेशमा नै डण्डी उत्पादन गर्न सकिने र यसले देशभित्रै लगानी बिस्तार गर्न, भविश्यमा निर्यातको वातावरण बनाउन र स्वदेशमा नै रोजगारी सिर्जना गर्नेछ ।’
सरकारले बजेटमा उल्लेख गरेको नयां व्यवस्थाले स्वदेशी पूँजी र सिपमार्फत देशभित्र थप ६ अर्बको लगानी रोलिङ्ग मिल्स तथा डण्डी उद्योगमा थप हुने अपेक्षा गरिएको छ । सोमबार बिलेट उत्पादन नगर्ने संघका अन्य सदस्यले २४ वटा संघठनले बिलेटमा लाग्ने अन्तःशुल्क बढाएको भन्दै विरोध गरेका थिए । उनिहरु भारतबाट बिलेट ल्याएर नेपालमा फलामे डण्डी उत्पादन गर्दै आएका थिए ।
तर, नेपालमै बिलेट उत्पादन गर्ने उद्योगीले भने सरकारी नीतिको स्वागत गरेका छन् । उनिहरु सोमबारको पत्रकार सम्मेलनमा समेत सहभागी थिएनन् । संघले नेपाल रोलिङ्ग मिल्स एशोसिएसनको नाममा केहि समूह तथा व्यक्तिहरुले अनधिकृत रुपमा पत्रकार सम्मेलन गरी भ्रम सिर्जना गर्ने काम गरेकोमा समेत गंभिर आपत्ति रहेको जनाएको छ ।
‘एशोसिएसनको नाममा त्यस्ता गतिबिधिहरु नगर्न र कसैले पनि सो बारेमा भ्रामक धारणा नबनाउन हार्दिक अनुरोध गर्दछौं ।’ संघको विज्ञप्तिमा भनिएको छ ।
कोभिड १९ बाट शिथिल रहेको स्वदेशी अर्थतन्त्रलाई यसले चलायमान बनाउन देशमा औद्योगिक वातावरण सिर्जना गर्न, विदेशी मुद्रा बाहिरीनबाट बचाउनुका साथै सरकारलाई समेत राजश्व वृद्धिमा सकारात्मक प्रभाव पार्ने उक्त एशोसिएसनको ठहर छ ।
सरकारले बजेटमार्फत डण्डी बनाउन चाहिने बिलेट स्वदेशमा नै उत्पादन गर्नका लागि आवश्यक पर्ने कच्चा पदार्थ स्पन्जको भन्सार शुन्य गर्नुले देशभित्रै उद्योगहरुले लगानी बिस्तार गरेर बिलेट उत्पादन गर्दै आत्मनिर्भरको बाटोमा अग्रसर हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नयाँ व्यवस्थाले स्वदेशभित्र उत्पादन भईरहेको विद्युतको खपतलाई पनि सहयोग पुग्ने दावी गरिएको छ । उत्पादन भईरहेको विद्युत खपत नहुने चिन्ताका विचमा विद्युत खपत बढाने अपेक्षा छ । आगामी दिनमा स्वदेशी डण्डी उद्योगहरुले नयाँ आयोजनाबाट उत्पादन हुने ३ हजार मेगावाट विद्युतलाई खपत गर्न समेत सहयोग पुर्याउँन सक्ने संघले दावी गरेको छ ।
विद्युत खपत गर्ने मात्र नभई यसले हाल स्टील उद्योगमा उपयोग गर्नुपर्ने फर्नेस आयल आयातमा भारत र अन्य मुलुक जाने गरेको करिब ४.५ अर्ब रुपैयाँ समेत स्वदेशभित्रै रहने र यसले अन्य उद्योगहरुमा थप लगानी गर्न सजिलो हुने विश्वास गरिएको छ ।
हाल नेपालमा करिब १६ लाख टन वार्षिक विलेट उत्पादनको क्षमता छ । जडित क्षमताको ८० देखि ९५ प्रतिशतसम्म उत्पादन हुनेगरी उद्योग संचालन गर्न सकिने बताइएको छ । त्यसका साथै तुरुन्त १० लाख टन बिलेट उत्पादन हुनेगरी उद्योग बिस्तार तथा योजना बनाउन सकिने संघले दावी गरेको छ ।
यसका साथै स्वदेशभित्रै पूर्णरुपमा बिलेट उत्पादन गर्दा सर्वसाधारण ग्राहकहरुले सिधै लाभ पाउनेछन् । कच्चा पदार्थ बाहेक समग्र सामग्री स्वदेशभित्रै उत्पादन गर्न सकिएको खण्डमा यसले ग्राहकहरुले किन्ने डण्डीको लागत घट्ने र ग्राहकरुलाई समेत सस्तो हुने संघले दावी गरेको छ ।
नेपाल जस्तो भूकम्पिय जोखिम भएको मुलुकमा सरकारले तोकेको मापदण्ड र न्यूनतम गुणस्तरमा प्रतिबद्ध हुँदै नेपाली उद्योगहरुले स्वदेशभित्रै डण्डी उत्पादन गर्दै आएका छन् । स्वदेशमा नै उत्पादन गरिने बिलेटबाट तयार हुने डण्डीहरु उच्च गुणस्तरीय र मजबुत हुनेहुँदा यसले नेपाली निर्माण क्षेत्रमा सुरक्षा समेत सुनिश्चित हुने संघले दावी गरेको छ ।




प्रतिक्रिया