महोत्तरीमा ‘आर्केस्ट्रा’ कार्यक्रम नगर्न प्रहरीको ‘सर्कुलर’


काठमाण्डु – जिल्ला प्रहरी कार्यालय महोत्तरीले जिल्लामा आर्केस्ट्रा कार्यक्रम गर्न प्रतिवन्ध लगाएको छ ।

विगत केही दिनदेखिको विभिन्न पूजामा ल्याइएको आर्केस्ट्रा कार्यक्रममा नाच कै क्रममा कुटपिट र झैं-झगडा हुन थालेपछि कार्यालयका एसपी दिनेश आचार्यले कुनै पनि बहानामा आर्केस्ट्रा कार्यक्रम गर्न खोज्नेलाई तत्काल रोक्न निर्देशन दिएका हुन् ।

एसपी आचार्यले सर्कुलर जारी गर्दै त्यस्ता कार्यक्रम रोक्न नमाने आयोजक र कलाकार समेतलाई नियन्त्रणमा लिन मातहतका निकायलाई निर्देशन दिएका छन् । दोहोरो अर्थ लाग्ने अश्लिल नृत्य र गीतहरुले विकृति फैलने र कार्यक्रममा मदिरा तथा लागु औषध सेवन गर्ने क्रम बढेपछि उनले त्यस्ता कार्यक्रममा रोक लगाएको बताए ।

सुरुमा साँस्कृतिक कार्यक्रम भनिए पनि ति कार्यक्रमहरु मध्ये अधिकांश साँस्कृतिक नभई संस्कृति र समाज विगार्ने खालका हुने गरेकोले त्यस्ता कार्यक्रम रोक्नुको विकल्प नरहेको एसपी आचार्यले बताए ।

पछिल्लो समय मटिहानीमा यस्तै कार्यक्रम हुँदा केही युवाहरु कुटिएका थिए भने सोपछि नेपालको सिमासँगै जोडिएको मधवापुरबाट आर्केस्ट्रा हेरेर फर्कँदै गरेका केही युवामाथी सांघातिक हमला भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement