कैलाली – सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट दुईजना मन्त्री नियुक्त भएका छन । मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्रीमा नियुक्त गरेका हुन ।
शुक्रबार साँझ मुख्यमन्त्री भट्टले आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका सांसद तारालामा तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले सपथ गराए ।यस्तै अर्थ राज्यमन्त्री नियुक्त भएकी माया तामाङ बोहरालाई मुख्यमन्त्री भट्टले सपथ खुवाएका छन्। तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् ।
सुदूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ । पार्टी विभाजनपछि पनि एमालेमै रहने निर्णय गरेका तत्कालिन आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र अर्थराज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका थिए ।
प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका एक-एक सांसद छन्।




प्रतिक्रिया