काठमाण्डु – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पार्टीको कार्यक्रममा हस्तक्षेप नगर्न एमालेलाई चेतावनी दिएको छ ।
शुक्रबार दमकस्थित सुकुम्बासी बस्तीमा नेकपाले सञ्चालन गरेको कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष इन्द्रबहादुर गुरुङ र आफूलाई एमालेनिकट नेता बताउने अम्बिका खनालले अराजनीतिक ढंगबाट गुन्डागर्दी शैलीमा अस्तक्षेप गरेको भन्दै दमक नगर कमिटीले विज्ञप्तिमार्फत चेतावनी दिएको हो ।
‘नेपाल कम्युनिस्ट पार्टीले विगतदेखि नै दलाल पुँजीवादी संसदीय व्यवस्थाको विरुद्धमा सङ्घर्ष गरिरहेको कुरा आम जनसमुदायमा जगजाहेर नै छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
यसै सन्दर्भमा पार्टीको घोषित कार्यक्रम अनुसार पार्टीका नेता तथा कार्यकर्ताहरू जनताको माझमा गएर दलाल, भ्रष्टाचारी र माफियाहरूको हातमा रहेको दलाल सरकारको भण्डाफोर गर्दै जनतामा सचेतना कार्यक्रम लिएर जाँदै गर्दा पार्टीको कार्यक्रममाथि हस्तक्षेप गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जनताको हितविपरीत कसैले भ्रम सिर्जना गर्ने र पार्टीको नीति तथा कार्यक्रममा कसैले हस्तक्षेप गर्छ भने त्यसको खुलेर प्रतिरोध गर्ने विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।
उक्त घटनामा संलग्न व्यक्तिहरू जनताको प्रतिरोधपछि भागेको र आगामी दिनहरूमा पार्टीको नेता कार्यकर्ता तथा जनतामा सम्भावित दुर्घटना हुन आए संलग्न व्यक्तिहरू नै जबाफदेही हुने भनी विज्ञप्तिमा उल्लेख छ ।
यदि पुनः कार्यक्रममा हस्तक्षेप गर्ने प्रयत्न गरेमा पार्टीले त्यसको सशक्त प्रतिरोध गर्नेसमेत चेतावनी दिइएको छ । दिपीनी खोला किनार नजिकैको सरकारीमा जमिनमा १५ सुकुम्वासी घरपरिवार बस्दै आएको छ । सुकुम्वासी परिवारलाई त्यहाँबाट हटाउन दमक नगरपालिकाले बारम्बार दबाब दिँदै आइरहेको छ ।




प्रतिक्रिया