काठमाण्डु – नेकपा एकीकृत समाजावादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले युद्धबाट भागेकालाई फेरि ल्याएर कमान्डर बनाउन नसकिने बताएकी छन् ।
शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा बोल्दै एमालेको साथ नछोडेका १० नेताहरुलाई भगौडा जर्नेलको संज्ञा दिँदै उनीहरुलाई कमान्डर मान्न नसकिने बताएकी हुन् ।
‘युद्धबाट भाग्ने भगौडाहरुलाई यथास्थितीमा फेरि ल्याएर कमान्डर बनाउन सकिँदैन,’ उनले भनिन्, ‘तर आत्मालोचना गरेर आए ढोका खोल्नुपर्छ । संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास छ । त्यसैले ढोका बन्द गर्नुहुन्न ।’
विगतमा माधवकुमार नेपाल खेमामा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा पार्टी विभाजित भएपछि नेकपा एमालेमै फर्केका थिए ।
नेतृ झाँक्रीले विचार समूहका हिसाबले धेरै समयसम्म कन्फ्युजनमा राखेर पछि हरियो सापले झैं डसेको भन्दै उनीहरुलाई भगौडा जर्नेलको संज्ञा दिएकी हुन् ।




प्रतिक्रिया