काठमाण्डु – सरकारले असोज ४ गते अर्थात भोलिदेखि कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिने भएको छ । भोलिदेखि असोज १४ गतेसम्म खोप दिनका लागि जिल्लाअनुसार उमेर समूह छुट्ट्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार खोप अभियान अन्तर्गत चारवटा उमेर समूहलाई जिल्लाअनुसार खोप दिइने छ । ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिइनेछ । त्यसैगरी काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउने बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइनेछ ।
काठमाण्डु, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइनेछ । मन्त्रालयका अनुसार यी बाहेक अरू ५८ जिल्लाहरूमा मनाङ, मुस्ताङ र रुकुमपूर्वबाहेकका जिल्लाहरूमा भने ४५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने छ ।
यसका साथै यसअघि छुटेका अग्रपङ्क्तिमा खटिने, आवश्यक सेवा शिक्षक, पर्यटकीय क्षेत्र र होटल व्यवसायमा काम गर्ने व्यक्तिहरू समेतलाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।





प्रतिक्रिया