काठमाण्डु – नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादी केन्द्रले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो ।
आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय माओवादीले यसअघि नै गरिसकेको छ । त्यसैगरी निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने जनाइएको छ । वडादेखि केन्द्रसम्म २ लाख ८५ हजार पदमा निर्वाचनमार्फत नेतृत्व चयन हुने माओवादी केन्द्रीय कार्यालय इन्चार्ज एवम् स्थायी समिति सदस्य वर्षमान पुनले बताएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमुखीकरण बैठकमार्फत सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने भन्दै त्यसैअनुसार तयारीमा जुट्न मातहत कमिटीलाई निर्देशन दिए ।
साथै उनले माओवादी केन्द्रलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने घोषणा समेत गरेका छन् । ‘विचार आधारित विधि पद्धति आधारित र सबै तहमा निर्वाचित प्रतिनिधि रहेको देशकै सबैभन्दा ठूलो पार्टी माओवादी केन्द्र बन्नेछ,’ उनले भने । प्रचण्डले आकारमा सानो भए पनि एजेण्डाका आधारमा माओवादी अहिले पनि देशको सबैभन्दा ठूलो दल रहेको दाबी गरेका छन् ।




प्रतिक्रिया