काठमाण्डु – साहस ऊर्जा कम्पनीले सर्वसाधारण समूहको प्राथमिक सेयर (आइपिओ)को बिक्री खुल्ला गरेको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ७० लाख कित्ता आइपिओ आजदेखि बिक्री खुल्ला गरेको हो ।
यसमध्ये ३ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि र २ लाख १० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुने कम्पनीले जनाएको छ ।
हालका दिनमा आइपिओ पाउनेको संख्या ज्यादै न्यून रहँदै आएकोमा यस कम्पनीको भने कुल ६ लाख ४४ हजार जनाले १० कित्ताका दरले पाउने छन् । हाल आइपिओ भर्नेको संख्या झण्डै २४ लाखको हाराहारीमा पुग्ने गरेको छ ।
न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । कम्पनीको आइपिओमा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ ।
सिडिएससीको मेरो सेयर र आफ्नो बैंक खाता रहेको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ । बिक्री प्रवन्धकका रुपमा एनआइबिएलएस क्यापिटल रहेको छ ।




प्रतिक्रिया