काठमाण्डु – गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले आफु निकट एनआरएनएलाई आन्तरिक सर्कुलर जारी गरेको छ ।
आगामी अक्टोबर २० मा हुने निर्वाचन नजिकिँदै गर्दा अध्यक्षका प्रत्यासी कुल आचार्यको पक्षमा काँग्रेस र माओवादी खुलेरै लागेका हुन् । काँग्रेस केन्द्रीय कार्यालयले शुक्रबार विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकलाई आन्तरिक सर्कुलर पठाउँदै लोकतन्त्रवादी समूहलाई विजयी गराउन भनेको छ ।
त्यस्तै माओवादी केन्द्रले पनि नेपालकै जसरी गठबन्धन बनाएर एनआरएनएमा कुल आचार्य समूहलाई जिताउन लागिपर्न आग्रह गरेको छ । प्रवासका कमिटीहरूलाई आन्तरिक सर्कुलर जारी गर्दै माओवादीले आचार्य समूहलाई जिताउन आग्रह गरेको हो । यसअघि माओवादी अध्यक्ष प्रचण्डले असोज ७ गते प्रवास सम्पर्क समन्वय समितिका इन्चार्ज नारायणकाजी श्रेष्ठलाई यसबारे आवश्यक निर्देशन दिएका थिए ।
‘एनआरएनएको नेतृत्व निर्माणको सन्दर्भमा वर्तमान सरकारमा रहेका राजनैतिक दलहरूको गठबन्धनसँगको एकता र सहकार्यको नीति लिइनेछ,’ निर्देशनमा भनिएको छ । प्रचण्डको निर्देशनअनुसार विदेशमा रहेका माओवादी निकट संगठनहरुले उम्मेदवार तय गर्नेदेखि आचार्यको पक्षमा माहोल बनाउनेसम्मका अभियान सुरु गरिसकेका छन् ।
एनआरएनएमा आचार्यसँगै बद्री केसी र रविना थापा चुनावी मैदानमा छन् । कांग्रेस र माओवादीले आफु निकटलाई जिताउन आधिकारिक रुपमै पहल थालेपछि नेकपा एमाले निकट रहेका बद्री केसी समूहमा भने हलचल भएको छ ।
केसी समूहले चुनाव आफ्नो पक्षमा पार्नका लागि काँग्रेस र माओवादी निकटका केही अभियन्तालाई आफ्नो पक्षमा तान्ने प्रयास गर्दै आएको बुझिएको छ । तर माओवादीले केसी पक्षतिर लागेका आफ्नो संगठन निकटका एनआरएनए अभियन्ताहरुलाई पार्टीको नीतिअनुसार लाग्न निर्देशन दिइसकेको बताइएको छ भने उनीहरु नफर्किएमा संगठनबाट कारबाही गर्नेलगायतका तयारी भएको स्रोतले बताएको छ ।




प्रतिक्रिया