पाँचथरमा बाढी पहिराेबाट मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

पाँचथरमा बाढी पहिराेबाट मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर – बाढी र पहिराेका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढी र पहिराेमा परी बेपत्ता रहेका थप दुई जनाको शव शनिबार फेला परेसँगै मृतकको सङ्ख्या ३० पुगेको हो ।

कात्तिक १ देखि ३ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिराको प्रकोप हुँदा जिल्लाका चार स्थानीय तहका सो सङ्ख्यामा स्थानीयवासीको ज्यान गएको हो । बाढीले बगाएर बेपत्ता फिदिम नगरपालिका–६ की २२ वर्षीया सम्पदा आले मगर र पहिराले पुरिएर बेपत्ता फाल्गुनन्द गाउँपालिका–४ चिलिङदिनका आठ वर्षीय बालक मिक्तोक चेम्जोङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बाढी र पहिराेमा परी मृत्यु भएका २८ जनाको यसअघि नै पहिचान भइसकेको छ । त्यसमध्ये २१ जना मिक्लाजुङ गाउँपालिकाका छन् । जिल्लामा अझै फिदिमका एक र मिक्लाजुङका तीन गरी चार जना बाढी तथा पहिराेमा परी बेपत्ता छन् । बेपत्ता हुनेमा दुई स्वास्थ्यकर्मीसमेत छन् । इलामको माङ्सेबुङ गाउँपालिकामा कार्यरत उनीहरु पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरामा परी घाइते भएका स्थानीयवासीको उपचारमा आएका थिए । पहिरो झरेपछि भाग्ने क्रममा पहिराले पुर्दा बेपत्ता भएका उनीहरु अझैसम्म फेला पर्न नसकेको मिक्लाजुङका अध्यक्ष अमरराज माखिमले जानकारी दिए ।

बाढी र पहिरामा परी बेपत्ताको खोजी तीव्र पार्न तथा क्षतिको विवरण सङ्कलन गर्न जिल्ला विपत् व्यवस्थापन समितिले सुरक्षा निकाय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ । सुरक्षा निकायले स्थानीयवासीसमेतको सहयोगमा खोजी कार्य गर्दै आएको तथा स्थानीय तहबाट क्षतिको विवरण सङ्कलन थालिएको समितिले जनाएको छ ।