काठमाण्डु – बिदा बसेका दुई न्यायाधीश सर्वोच्च अदालत फर्किएका छन् । न्यायालयमा संकट गहिरिँदै गएपछि बिदामा बसेका न्यायायधीशद्धय कुमार चुडाल र नहकुल सुवेदी बिदा कटाएर मंगलबारबाट अदालत फर्केका हुन् ।
न्यायालयमा प्रधानन्यायाधीशका कारण बेथिति बढेको तथा कार्यपालिकामा समेत प्रधानन्यायाधीश जबराले भाग खोजेको भन्दै असन्तुष्टि जनाएका १३ न्यायाधीशले सोमबारको पूर्ण बैठक र इजलास बहिष्कार गरेका थिए ।
सोमबार छुट्टै बैठक बसेका न्यायाधीशहरुले प्रधानन्यायाधीशले राजीनामा गरेर न्यायलयको साख जोगाउनुपर्ने निष्कर्ष निकालेका थिए । यसैबीच आज न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरालाई भेट्दैछन् ।
अदालतभित्र देखिएका बिचलनमा प्रधानन्यायाधीश राणा प्रमुख कारण रहेको भन्दै असन्तुष्ट बनेका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणालाई भेट्न लागेका हुन् । चार पूर्वप्रधानन्यायाधीशहरुले समेत अवेर राति विज्ञप्ति निकालेर प्रधानन्यायाधीश जबरालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।
जबरालाई संवैधानिक परिषदसम्बन्धी मुद्दाको सुनुवाइ रोकेको, सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोला प्रथा लागू गर्न नमानेको, कार्यकारी निकायसँग लेनदेनमा सहभागी भएको जस्ता आरोप लागेको छ ।
सत्ता गठबन्धनमा भाग खोजेको भन्दै चर्को आलोचना खेप्दै आएका प्रधानन्यायाधीश जबरामाथि चौतर्फी राजीनामाको चर्को दबाब छ ।
यसैबीच प्रधानन्यायाधीश जबराले भने कसैको दबाबमा आएर पदबाट राजीनामा नदिने बताएका छन् ।
बीबीसी न्यूज नेपालीका शरद केसीसँग कुरा गर्दै प्रधानन्यायाधीश जबराले ‘सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने’ बताएका हुन् ।
‘संविधानको प्रक्रियाबाट म आएको छु र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो,’ प्रधानन्यायाधीश जबराले भनेका छन्, ‘न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ ।’




प्रतिक्रिया