बागमतीमा चार सदस्यीय सरकार गठन हुँदै, मन्त्रालय फुटाउने तयारी

बागमतीमा चार सदस्यीय सरकार गठन हुँदै, मन्त्रालय फुटाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ गठबन्धनले बागमती प्रदेशमा चार सदस्यीय सरकार गठन गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा चार सदस्यीय सरकार गठन हुने भएको हो ।

मुख्यमन्त्रीमा प्रस्तावित नेता पाण्डेले बिहीबार चार सदस्यीय सरकार गठन गर्ने भएका छन् । नेकपा एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि गठबन्धनले नयाँ सरकार गठन गर्ने भएको हो ।

आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि शर्माले बहुमतको अर्को सरकार गठनका लागि आह्वान गरेका हुन् ।

नेता पाण्डेले प्रदेश प्रमुखले आज सरकार गठनका लागि आह्वान गरेकोले बिहीबार गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने बताए ।

उनले भने, ‘मेरो नेतृत्वमा अहिले ४ जना सरकारमा जानुहुन्छ । बाँकी मन्त्रिमण्डल तिहारपछि मात्रै विस्तार हुन्छ ।’

४ सदस्यीय मन्त्रिमण्डलमा नेपाली कांग्रेसका उपनेता कृष्णलाल भडेल, नेकपा माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान र समाजवादीका उपनेता कृष्ण खनाल सहभागी हुने सम्भावना छ । मन्त्रालयको विषयमा टुंगो नलागेको नेता पाण्डेले बताए । उनले चार दल बसेर मन्त्रालयको विषयमा टुंगो लगाउने बताए ।

मन्त्रालय फुटाउने तयारी

बागमती प्रदेशमा मन्त्रालय फुटाउने तयारी भएको छ । गठबन्धनका सबैलाई भागबन्डा पुर्याउनुपर्ने भएकाले मन्त्रालय फुटाउने तयारी भएको हो ।

गठबन्धनमा चार दल रहेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहेका छन्।

नेता पाण्डेले गठबन्धनमा रहेको ४ दलमा मन्त्रालय भागबण्डा गर्नुपर्ने भएकाले केही मन्त्रालय विभाजन हुनसक्ने समेत बताए । भागबन्डाका आधारमा मन्त्रालय फुटाउँदा १५ वटासम्म पुर्याउने तयारी भएको स्रोतले जानकारी दियो ।