काठमाण्डु – चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना शीर्ष तहका सांसद तथा केन्द्रीय सदस्यहरू चीन भ्रमणमा जाँदैछन् ।
कात्तिक २९ गते चीन जान लागेका उनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीका नेतृत्वसँगै त्यहाँको विकास अर्थतन्त्र व्यापार र राजनीतिक विषयमा कुराकानी गर्ने बताइएको छ ।
भ्रमण सफल र फलदायी होस् भन्ने हिसाबले शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले पनि नेताहरूलाई आवश्यक निर्देशन दिएको पार्टी नेत्री लिमा अधिकारी बताउँछिन् ।
अधिकारीका अनुसार १० दिनको भ्रमणमा त्यहाँ नेताहरूले ३ वटा मुख्य एजेण्डामा केन्द्रित रहेर कुराकानी गर्नेछन् ।
राजनीति, आर्थिक र पोस्ट डिजास्टरका विषयमा केन्द्रित रहेर कुराकानी हुने अधिकारीको भनाइ छ। ‘प्रधानमन्त्रीले फेम वर्किङमा काम गर्नु भन्ने हिसाबले कुरा गर्नुभएको छ। छिमेकी देशसँगको रिलेसन ब्यालेन्स । बिआरआरआईहरूको के छ त्यस विषयमा पनि कुराहरू फेम वार्किङमा काम गर्नुपर्छ,’ अधिकारीले काठमाण्डुपाटीसँग भनिन्, ‘३ वटा विषयमा हामी गम्भीर रूपमा छलफल गर्छौंं । एउटा राजनीतिक एजेन्डा भइहाल्यो । चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष लेभलका नेतासँगै विभिन्न तहका नेता र त्यहाँका सरकारका व्यक्तिहरूसँग भेट हुन्छ । बिजनेस सेक्टर डेभलपमेन्ट सेक्टर लगायतका विषयमा कुराकानी हुन्छ । इबी गाडीको युनिटहरूसँग पनि भेट हुन्छ । एआइमा गरेका प्रगतिको विषयमा पनि हामी समीक्षा गर्छौं। पोस्ट डिजास्टरको विषयमा पनि कुराकानी हुन्छ। पोलिटिकल, पोस्ट डिजास्टर र इकोनोमिक्स सेक्टरको एजेन्डामा कुराकानी हुन्छ ।’
उनले भ्रमण सबै हिसाबले फलदायी बनाउनका लागि अध्ययन अनुसन्धान र कामहरू भइरहेको बताउँछिन् । भ्रमणका लागि चिनियाँ कम्युनिष्ट पार्टीले नै आवश्यक तयारी र समन्वय गरिरहेको उनको भनाइ छ ।
अधिकारी चीनमा अध्ययन गरेकी नेत्री हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्थ विभाग प्रमुख समेत छिन् ।


प्रतिक्रिया