काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन नै सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् ।
स्वास्थ्य पत्रकार मञ्च नेपालले बिहीबार मन्त्रालयमा गरेको साक्षात्कारमा बोल्दै मन्त्री खतिवडाले सम्पूर्ण नेपालीलाई चैत्रभित्र कोरोना विरुद्धको खोप लगाउने गरी काम गरीरहेको बताए ।
उनले भने, ‘चैतसम्ममा दुई करोड खोप आउँछ । अहिले खोपको उत्पादन पनि बढीरहेकाले सबै नेपालीलाई खोप लगाउने लक्ष्य पुरा हुँदैन की भन्नेमा चिन्ता गर्नुपर्ने स्थिति देख्दिन ।’
फाइजर र मोडर्ना गरी १ करोड खोप ल्याउने प्रक्रिया अघि बढीसकेको उनले बताए । ती खोप १५ दिनमा आइपुग्ने मन्त्री खतिवडाले जानकारी दिए । साथै उनले १२ देखि १८ वर्षका बालबालिकाकालागि पनि कोरोनाविरुद्धको खोप ल्याउन लागेको जानकारी दिए । चीन र भारतमा परीक्षण भइरहेको खोप विश्व स्वास्थ्य संगठनले मान्यता दिएपछि नेपालमा ल्याउने उनको भनाइ छ ।
स्वास्थ्य बिमा निःशुल्क गर्ने योजना
मन्त्री खतिवडाले स्वास्थ्य बिमा कार्यक्रमलाई क्रमशः निःशुल्क गर्दै लैजाने योजना रहेको बताएका छन् । पहिलो चरणमा लोपोन्खुख जाती र त्यसपछि सबै नागरीकलाई निःशुल्क बिमा गर्ने आफ्नो योजना रहेको उनको भनाइ छ ।
‘अहिले बिमा गर्दा ३ हजार ५ सय लाग्छ मेरो कार्यकालमा यो रकम नलिई सबै नेपालीको बिमा गर्ने योजना बनाएको छु । अव सुरुमै सबैको निःशुल्क नसकेपनि सबै भन्दा कम जनसंख्या भएका लोपोन्मुख समुदायबाट सुरु गर्ने सोच छ । हिजो सामाजिक सुरक्षा भत्तापनि एक सयबाटै सुरु भएको थियो । आज त्यो बढेको बढ्यै छ । मैले स्वास्थ्य बिमालाई पनि एउटा सिस्टममा बसाल्छु त्यसपछि त पक्कै सबैको बिमा निःशुल्क होला ।’
अनिवार्य बिमा कार्यक्रम अगाडि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग छलफल भइरहेको जानकारी दिए ।
‘लोपउन्मुख जातिको संख्या कम भएकाले स्वास्थ्य मन्त्रालयकै बजेटबाट गर्न सकिन्छ । अल्पसंख्यकको जनसंख्या करिब ३० लाख छ । सरकारले सो कार्यक्रममार्फत क्रमशः सबै नागरिकको बिमा अनिवार्य गर्ने छ,’ उनले भने, ‘मैले लोपउन्मुख वा अल्पसंख्यकको मात्रै पनि स्वास्थ्य बिमा निःशुल्क गर्न सके भने क्रमशः अगामी सरकारले सो कार्यक्रमलाई पाँच–६ वर्षभित्रमा सबै नागरिकको बिमा अनिवार्य गर्न सजिलो हुन्छ ।’
भ्रष्टाचारका कुरा सुन्नै नपर्ने गरी काम गर्छु: मन्त्री खतिवडा
स्वास्थ्य मन्त्री खतिवडाले आफ्नो कार्यकाललाई उदारणीय बनाउने गरी आफु लागिरहेको बताए । पछिल्लो समय मन्त्रालयमा भ्रष्टाचार मौलाएको समाचारहरु बाहिरिएकाले आफू भ्रष्टाचार हुन नदिने गरी चनाखो भएर काम गर्ने प्रतिबद्धता जनाए ।
यसअघि कोरोनासँग सम्बन्धीत स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएका तथ्य बाहिरिए पनि आफ्नो कार्यकालमा त्यस्तो सुन्न नपर्ने बताएका हुन । खतिवडाले भने, ‘मेरो कार्यकालमा भ्रष्टाचार भयो। अनियमितता भयो भन्ने विषय तपाईंहरुले लेख्न, सुन्न पाउनु हुन्न र म त्यो हुनेगरी काम पनि गर्दिन ।’
उनले आफू हचुवाका भरमा ठूला र नयाँ योजना ल्याउने पक्षमा नरहेको बताए। ‘नयाँ मन्त्री आउनेबित्तिकै ठूला योजना हचुवाका भरमा झ्याप्प–झ्याप्प ल्याउने र ति पूरा नहुने अवस्था रहन्छ । मेरो कार्यकालमा त्यस्तो हुँदैन । पूरा नहुने महत्वाकांक्षी योजना ल्याएर तीन महिनापछि अनुहारै देखाउन नमिल्ने योजना म ल्याउँदिनँ,’ मन्त्री खतिवडाले भने ।
मन्त्रालयबारे बुझ्दै
मन्त्री खतिवडाले मन्त्रालयबारे आफुले जानकारी लिइरहेको बताए । मन्त्रालयको जिम्मेवारी प्राप्त गरेलगतै सार्वजनिक विदा परेकाले अहिले मन्त्रालयबाट हुने काम कारवाही र विभागहरुबारे जानकारी लिइरहेको बताए ।
उनले भने, ‘म मन्त्रालयमा नया“ छु । यहा“को काम कारवाहीबारे जानकारी लिइरहेको छु ।’ साथै मन्त्री खतिवडाले औषधीको मुल्य सम्बन्धमा देखिएको समस्या दीर्घकालीन रुपमा कसरी समाधान गर्न सकिन्छ भनेर आफुले छलफल अगाडी बढाएको बताए ।
औषधी व्यवस्था विभागले केही समय अघि बढाएको मुल्यको बिषयमा अनुसन्धान भइरहेको जानकारी दिए । औषधीको मुल्य छानविन गर्ने जिम्मेवारी स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई जिम्मेवारी दिइएको बताए ।




प्रतिक्रिया