चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चिातवन जाने भएका छन् । प्रस्तावित माडीको अयोध्याधाम अवलोकन गर्न उनी मंगलबार पहिलोपटक अयोध्याधाम जाने भएका हुन् ।
एमाले माडीका नेता श्रीप्रसाद दवाडीले पार्टी अध्यक्ष ओली मंगलबार अयोध्याधाम आउने बताए । उनले अयोध्याधाम अवलोकनपछि ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए । त्यसपछि उनले एमाले भरतपुर महानगर कमिटीको अधिवेशन उद्घाटन गर्नेछन् ।
अध्यक्ष ओलीले एक वर्षअघि बालुवाटारमा आयोजित कार्यक्रममा राम नेपालमै जन्मेको र अयोध्या पनि नेपालमै रहेको अभिव्यक्ति दिएका थिए । ओलीको उक्त अधिव्यक्तिपछि माडीको अयोध्यापुरी चर्चामा आएको थियो । अयोध्याधाममा वागमती प्रदेश सरकारको करिब ३० लाख लगानीमा मन्दिर, सत्तल, सुरक्षा गार्ड बस्ने भवन र शौचालय बनेको छ ।
ओली नेतृत्वको सरकारले अयोध्यापुरीको अध्ययन, अन्वेषण र संरक्षण गर्न १ करोड बजेट विनियोजन गरेको थियो । पुरातत्व विभागमार्फत देशभरका पुरात्विक स्थलको संरक्षण गर्न ४८ करोड बजेट विनियोजन भएको थियो ।
माडी नगरपालिकाले अयोध्याधामका लागि १०० बिघा जमिन प्रस्ताव गरेको थियो । ओलीकै निर्देशनमा बालुवाटारमै राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदको मूर्ति बनाएर गत वैशाखमा काठमाण्डुदेखि रथयात्रा गरेर मूर्ति राखिएको थियो ।
ओलीले माडीमा अयोध्याधाम निर्माण गर्ने कार्यलाई सफल पार्ने अडान लिँदै आइरहेका छन् । प्रमाण र अनुसन्धानबिना अयोध्याधाम बनाउन लागेको भनेर उनको आलोचना पनि हुँदै आएको छ ।




प्रतिक्रिया