काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई पत्र पठाउको विषयमा झुट बोलेको खुलेको छ ।
केही दिन अगाडि मस्कोबाट फर्किएका प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई पत्र पठाएको बताएका थिए । तर, उक्त विषय झुटो साबित भएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई चिठी नलेखिएको बताउँदै प्रधानमन्त्री देउवाको कुरामा सत्यता नरहेको बताएका हुन् ।
खुमलटारस्थित निवासमा देउसीभैलेसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता पहिले सही नै भए पनि बीचमा थपिएका प्रवाधानहरुले प्रश्न उब्जाएको बताएका छन् ।
‘हिजो प्रधानमन्त्री शेरबहादुरजीले बोलिदिनुभएछ प्रचण्डजीले र मैले चिठी पठाइसकेका छौं भनेर । देशैभरि साथीहरुको तरंग पैदा भएको छ’ उनले भने, ‘त्यस्तो चिठी पठाएको हैन । पछि प्रधानमन्त्रीजीले त्यस्तो भनेको त होइन भनेर आफैंले सच्याउनुभएको छ ।’
अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता नसच्याई पारित नहुने बताउँदै राष्ट्रिय सहमति कायम गरेर मात्रै एमसीसी पारित हुने बताए ।
‘हामीले भनेको के हो भने देशमा सबै दलहरूसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसको निम्ति हामीलाई समय पनि चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ, त्यसको निदान कसरी गर्न सकिन्छ, उपाय निकाल्छौँ भनेर लेखेको चिठी हो । हामी पास गर्छौं भनेर लेखेको चिठी होइन । यो कुरा प्रष्ट होस्,’ उनले भने ।
अध्यक्ष प्रचण्डले विदेशी सहायता स्वीकार गर्नु स्वभाविकै हुने भएता पनि एमसीसीमाथि प्रश्न उठेको बताए । अध्यक्ष प्रचण्डले माओवादीको सरकार हुँदा देउवा नेतृत्वको सरकारको पालामा एमसीसी सम्झौता भएपनि उक्त सम्झौतामा पार्लियामेन्टमा लगेर ऐन सरह हुने गरी अनुमोदन गर्ने कुरा नभएको बताए । उनले उक्त पछि थपिएको बताउँदै संसदबाट अनुमोदन गर्ने कुराले विवाद निम्त्याएको बताए ।
‘अमेरिकाले, बेलायतले या दुनियाँको कुनै पनि विकसित देशले दिएको सहयोग नलिने भन्ने चाहिँ हुँदैन । अनुदान सहयोग दिने र लिने कुरा सामान्य कुरा हो,’ उनले भने, ‘तर, यो एमसीसीमा यति धेरै बहस विवाद किन भयो भने पहिलो सुरुमा सहमति हुँदा यो एमसीसी सम्झौता संसदमा लानुपर्ने र संसदबाट अनुमोदन गर्नुपर्ने केही कुरा थिएन । अमेरिकाले सहयोग दिने र नेपालले लिने भन्ने मात्रै थियो ।’




प्रतिक्रिया