काठमाण्डु – नेकपा माओवादी केन्द्रले प्रदेश २ को जिल्ला संयोजकको जिम्मेवारी तोकेको छ । माओवादी केन्द्र प्रदेश २ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेको आठवटै जिल्लाको संयोजक तथा दुईवटा जिल्लाको सह इन्चार्ज तोकेको हो ।
सप्तरीको संयोजकमा उमेश कुमार यादव, सिरहाको संयोजकमा रामकुमार यादव, धनुषाको संयोजकमा दीपक यादव, महोत्तरीको संयोजकमा तुलसी ढुंगाना, सर्लाहीको संयोजकमा कमल बुढाथोकी, रौतहटको संयोजकमा देवेन्द्र पटेल, बाराको संयोजकमा अनिल श्रेष्ठ र पर्साको संयोजकमा रामदरेश कुशवाहलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै वीरगञ्ज महानगरपालिकाको संयोजकमा रहवर अन्सारीलाई तोकेको छ । सर्लाही जिल्लाको सह इन्चार्जमा लोचन धिमाल र रामपृत रायलाई तोकेको छ भने धनुषाको संयोजकत्वमा झल्कु यादवलाई तोकेको छ ।
पर्सा जिल्लामा भने पूर्व पदाधिकारी नै सह इन्चार्ज भएकाले जिल्ला नेतृत्वसँग परामर्श गरी रामदरेश कुशवाहलाई संयोजक तोकिएको छ ।अरु जिल्लाको हकमा भने आवश्यकता अनुसार मात्र तोकिने प्रदेश २ का प्रदेश २ का सह इन्चार्ज विश्वनाथ साहले बताए ।
प्रदेश तथा जिल्ला कमिटीको पूर्णता पार्टीको राष्ट्रिय सम्मेलनबाट दिइनेछ । अहिले पूर्व कमिटीमा रहेका पदाधिकारीहरूलाई सम्मेलनसम्मका लागि जिम्मेवारी तोकिएको उनले बताए । पालिकाको इन्चार्ज तोक्नेबारे सम्बन्धित जिल्लामा रहको केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज, सह इन्चार्ज र संयोजक लगायतले प्रदेश सदस्यको परामर्श गरी टुङ्ग्याउने निर्णय समेत भएको छ ।
पार्टी सदस्यको न्यूनतम मासिक लेबी तोक्ने निर्णय पनि गरेको छ । प्रदेश सदस्यले ७५ रुपैयाँ, जिल्ला समन्वय समिति सदस्यले ५० रुपैयाँ, गाउँ नगर समिति सदस्यले २५ रुपैयाँ र त्यो भन्दा तल्लो तहको समिति र आम सदस्यहरूले २० रुपैयाँ मासिक लेबी पार्टीलाई बुझाउनु पर्ने निर्णय गरेको छ ।






प्रतिक्रिया