राजदूत नियुक्तीमा नारायणकाजीकाे असन्तुष्टी, पार्टीको भागबण्डा हटाउन माग

राजदूत नियुक्तीमा नारायणकाजीकाे असन्तुष्टी, पार्टीको भागबण्डा हटाउन माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धनप्रति असन्तुष्टी जनाएका छन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता श्रेष्ठले राजदूत नियुक्ती लगायतका विषयमा एकलौटी निर्णय भएको भन्दै असन्तुष्टी जनाएका हुन् ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले गठबन्धनका शीर्ष नेताले हिजो प्रतिगमन विरोधी आन्दोलनमा सहभागी नेताहरुलाई बेवास्ता गर्दै गएको बताएका छन् ।

‘प्रतिगमन बिरोधी संघर्षको समयमा गठबन्धनको सबै बैठकहरुमा उपस्थित भई छलफल गर्ने अवसर प्राप्त थियो।अनिवार्य जस्तै थियो सहभागिता ।संघर्षको सफलता पछि पार्टीहरुको गठबन्धन शिर्षस्थ नेताहरुको गठबन्धन जस्तो बनेपछि भने एकाध बैठकहरुमा मात्र आमन्त्रण अनुसार भाग लिएको छु,’ उनले भनेका छन्, ‘त्यस्तै एउटा बैठकमा मैले अघिल्लो सरकारले नियुक्ति गरेका सबै राजदुतहरु फिर्ता बोलाउने सकारको निर्णयलाई बेठीक भन्दै असहमति जनाएको थिएं ।’

नेता श्रेष्ठले संविधान ,कानून र लोकतान्त्रिक मुल्यमान्यता बिपरित नियुक्ति गरिएका, असक्षम र ब्यबहारबाट सरकारको प्रतिनिधित्व नगर्ने पुष्टी भएका राजदुतहरुलाई मात्र फिर्ता बोलाउनु पर्ने बताए । कुनै देशको राजदुतले पनि राम्ररी काम गर्न नसक्ने अवस्था उत्पन्न हुने बताउँदै स्थायित्वको आशंकाको कारण सम्बन्धित देशहरुमा काम गर्ने वातावरण नबन्ने बताए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि असन्तुष्ट बनेका श्रेष्ठले पाँच दलीय गठबन्धन अहिले पनि यथास्थितिवादी र परम्परागत शैलीमा चलेको आरोप लगाएका छन् ।

‘संविधान, कानुन र लोकतान्त्रिक मूल्यमान्यता विपरीत गरिएका नियुक्ति, असक्षम र ब्यवहारबाट नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टि भएका राजदूतहरुलाई मात्र फिर्ता बोलाउनु पर्छ, सबैलाई एकमुष्ट रुपमा होइन । हरेक सरकारले अघिल्लो सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाउने परम्परा बन्छ । त्यस स्थितिमा हामीले पठाएको कुनै देशको राजदूतले पनि राम्ररी काम गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ’, उनले भनेका छन्, ’स्थायित्वको आशंकाका कारण सम्बन्धित देशहरुमा काम गर्ने वातावरण बन्दैन । शीर्षस्थ नेताहरुले यो कुरा ठीकै भए पनि निर्णय भइसकेकाले अब छलफल नगरौँ भन्नुभयो र त्यो कुरा त्यहीँ सकियो ।’

अब राजदूतहरूको नियुक्ति प्रक्रिया अघि बढ्दा देशको इज्जत बढाउने व्यक्तिहरूलाई अवसर दिनुपर्ने नेता श्रेष्ठको भनाई रहेको छ । ‘सामान्य बेलामा अमूर्त राम्रा कुरा गर्ने तर लागू गर्ने चाहिँ स्वार्थजन्य यथास्थितिवादी परम्परा हुने गरेकोले यसलाई तोड्ने साहास गरौँ’, उनले भनेका छन् ।