चितवनमा एमाले–माओवादीबीच शक्ति संघर्षः रामलाई अस्त्र बनाएर कौरव र पाण्डवको भीडन्त !

चितवनमा एमाले–माओवादीबीच शक्ति संघर्षः रामलाई अस्त्र बनाएर कौरव र पाण्डवको भीडन्त !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका प्रमुख राजनीतिक दलहरु यतिबेला महाधिवेशनको दौडधुपमा छन् । चुनाव पनि नजिकिएकाले महाधिवेसन को दौडमा पनि चुनावी एजेण्डा प्रस्तुत गर्न शीर्ष नेताहरुलाई भ्याइ नभ्याइ छ । एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने राजनीतिक दलहरुले अहिले पनि सत्तो सराप लगाउने पुरानै प्रवृतीलाई निरन्तरता दिएका छन् ।

यसको गतिलो नमुना चितवनमा हुने सभाहरुले झल्काइरहेको छ । नेकपा माओवादी र नेकपा एमाले मिलेर बनेको नेकपा विभाजित भएपछि पार्टी संगै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मन पनि विभाजित बनेको छ ।

हिजो दुई शरीरको एक मन भनेर लागेका नेताहरु एकले अर्कोलाई गिराउन न्वारनदेखिकै बलन लगाउन पनि बाँकी राखेका छैनन् । माओवादी अध्यक्ष प्रचण्डलाई आमागी निर्वाचनमा क्लिनस्विप गर्न एमाले अध्यक्ष ओलीले चितवनमा कसरत थालेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको निर्वाचन क्षेत्रमा सक्रियता बढाएसँगै चितवनमा एमाले र माओवादी केन्द्रबीच शक्ति संघर्ष सुरु भएको हो ।

रामलाई अस्त्र बनाएर कौरव र पाण्डवको भीडन्त

चितवनको माडी क्षेत्रमा रामको जन्म भएको भनेर चर्चामा छ । एमाले अध्यक्ष केपी शर्मा अ‍ोली सरकारमा हुँदा रामको जन्म चिवतनको माडीमा भएको भन्दै उद्घोष गरे । उनले रामको जन्म भारतमा नभई चितवनको माडीमा भएको भनेर प्रचार मात्र गरेनन् उक्त क्षेत्रमा राम र सीताको मूर्ति नै स्थापना गरिदिए ।

प्रचण्डको चुनावी क्षेत्र माडी पुगेर अध्यक्ष ओलीले प्रचण्डलाई खुइल्याउने काम गरे । उनले चितवनको विकासमा प्रचण्ड बाधक भएकोसमेत भन्न भ्याए । अध्यक्ष ओलीले कांग्रेसले छोरी (रेणु दाहाल ) र एमालेले बाउ (प्रचण्ड) बोकेर गल्ती गरेको बताए । उनले चितवन क्षेत्रको जग्गा काठमाण्डुको न्यूरोड जति नै पुग्ने दाबी गरे । अध्यक्ष ओलीले विकास भएपछि माडी क्षेत्रलगायतको जग्गा काठमाण्डु जत्तिकै हुने आश्वान दिए ।

हाल प्रचण्ड पुत्री रेणु दाहाल भरतपुर उपमहानगरपालिकाको मेयर छिन् । दाहाल स्थानीय तहमा भएको निर्वाचनमा कांग्रेसको समर्थनमा मेयरमा निर्वाचित भएकी थिइन् ।

‘यहाँको दाम बढ्छ । अझै बढ्छ होइन यहाँको जग्गाको भाउ काठमाण्डुको जति हुन्छ । न्यूरोडको जती हुन्छ । समयक्रमसँगै बढ्छ । जब विकास हुन्छ’ उनले भने ।

साथै अध्यक्ष ओलीले माडीमा बनेका १२ वटा पक्की पुल र विकास निर्माणका काम आफूले गरेपनि त्यसको अपजस प्रचण्डले लिन खोजेको आरोप लगाए ।

यता पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आगामी निर्वाचनमा चितवन कुरु क्षेत्र बन्ने दाबी गरे । निर्वाचनमा चितवन महाभारतको कुरुक्षेत्र हुने भन्दै प्रचण्डले कौरव वा पाण्डवले जित्छ हेर्न बाँकी रहेको बताए ।

‘फेरि एक पटक महाभारत हुँदैछ, चितवन कुरुक्षेत्र बन्दैछ,’ प्रचण्डले भने, ‘तर यसपटकको लडाइँ हिंसात्मक हुँदैन, राजनीतिक लडाइँ लडेर निरंकुश प्रवृत्तिलाई बडारेर फाल्ने मन छ ।’

उनले जनताले जित्ने कि जनताका बैरीले जित्ने भन्ने फैसला चितवनबाट हुने बताए ।

‘कौरवलाई जिताउने कि पाण्डवलाई त्यसको फैसला तपाईंहरूले गर्ने हो,’ उनले भने, ‘ऐतिहासिक क्षणमा आफ्नो ताकत राम्रैसँग देखाउनुपर्छ ।’

जवाफमा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई जनयुद्ध कालको घटना सम्झाए । उनले चितवनको बाँदरमुडे घटनातर्फ संकेत गर्दै उनले बैंस सम्झेर कुरु क्षेत्र बनाउँछु भनेर धम्की नदिन सचेत गराए । अध्यक्ष ओलीले चितवन कुरु क्षेत्र नभई धार्मिक क्षेत्र हुने बताए ।

‘अनि कुरु क्षेत्र चाँही किन बनाउने रे ? उहीले बैंस सम्झेर अहिले कुरु क्षेत्रको कुरा गरेर हुन्छ । प्रचण्डले उहिले बसमा बम पड्काइदिने, ३९ जना तत्काल र ६ जना पछि मर्ने र ६९ जना घाइते हुने । त्यही बैंस सम्झेर कुरु क्षेत्र बनाउँला भन्या होला । अब कुरु क्षेत्र सेत्र होइन यो धर्म क्षेत्र बन्छ,’ उनले भने ।

प्रचण्डसंग बदला लिन बादलको प्रयोग

नेकपा एमालेको १० औं महाधिवेशन चिवतनमा हुँदैछ । एमालेले पार्टीको १० औं महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनमा गर्न लागेको हो । पहिले बुटवलमा महाधिवेशन गर्ने भनेको एमालेले पछि चितवनमा सारेको हो । एमालेको महाधिवेशन प्रचण्ड लक्षित देखिएको छ ।

प्रचण्ड र ओलीबीचको शक्ति संघर्ष पार्टी एकता भएदेखि नै देखिएको छ । २०७४ साल असोज १७ गते नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । २०७४ सालमा भएको निर्वाचनमा झण्डै दुई तिहाई ल्याएको नेकपा शक्ति संकर्षकै कारण विभाजनको अवस्थामा पुगेको छ र झण्डै दुई तिहाई नजिकको सरकार पतन भएको छ ।

प्रचण्डकै कारण पार्टी विभाजन भएको र आफू सरकारबाट बाहिरिनु परेको ओलीको आरोप छ । उनले विपक्षीसँग मिलेर आफू नेतृत्वको सरकार ढालेको आरोप लगाउँदै आएका छन् । साथै प्रचण्डकै कारण नेकपा एमाले पनि विभाजन भएको ओलीको आरोप छ ।

यता प्रचण्डको विश्वास पात्र मानिएका रामबहादुर थापा बादल अहिले नेकपा एमालेमा छन् । १० वर्षे जनयुद्ध काल अगाडिबाटै प्रचण्डसँग काम गरेका बादल नेकपा एमालेमा छन् । उनी अहिले ओलीको विश्वास पात्र मानिन्छन् ।

गृहजिल्ला चितवन नै भएका बादललाई अध्यक्ष ओलीले महत्वपूर्ण जिम्ेमवारी दिइसकेका छन् । एमाले बागमती प्रदेशको ईञ्चार्जसमेत रहेका बादल एमाले स्थायी कमिटी सदस्यसमेत हुन् । उनै बादललाई प्रयोग गरेर ओलीले प्रचण्डसँग बदला लिन खोजेका छन् । उक्त विषय प्रचण्ड पनि स्वीकार गर्छन् ।

उनले एमालेले महाधिवेशन चितवनमा गरेर आफू र माओवादी केन्द्रसँग बदला लिन खोजिएको बताए ।
माडीमा राम, लक्ष्मण र सीतालाई ल्याएर भिडाउँदा धेरै फाइदा नहुने देखेपछि एमाले अध्यक्ष ओलीले बुटवल तय भएको महाधिवेशन यता सारेको उनले बताए ।

‘जाली फटाहाहरूसँग त सजिलै लड्न सकिन्थ्यो, राम, सीतासँग लड्ने कुरा आएन,’ प्रचण्डले भने, ‘अध्ययनले प्रमाणित गरे हामी खुसी नै हुन्छौं भनेको थिएँ तर यताबाट फाइदा नदेखेर अब अर्कोतिर लागेछन् ।’

बुटवलमा गर्ने तय भएको महाधिवेशन चितवनमा गर्न खोज्नुमा ओलीको पराजय देखेको उनले बताए ।

‘मेरो जित उनीहरूको त्यो पराजित मानसिकताबाटै सुरू भइसकेको छ,’ प्रचण्डले भने, ‘चितवनमा महाधिवेशन गर्दा मलाई फाइदा नै हुन्छ ।’

प्रचण्डले आफू अब चितवनबाट चुनाव नलड्ने भनेर हल्ला चलाउन थालिएको भन्दै कोही पनि भ्रममा नपर्न अग्रह गरे ।

‘कुनै भ्रम नहोस्, कसैले आत्मरती नगरे हुन्छ, म भाग्ने मान्छे होइन भन्ने ओलीलाई पनि थाहा छ राम्रोसँग । त्यही भएर मलाई खोज्दै खोज्दै चितवन आएका छन्,’ उनले भने ।