बेलायतमा कोरोनाको नयाँ भेरियण्ट भेटिएपछि थप प्रतिबन्धको घोषणा

बेलायतमा कोरोनाको नयाँ भेरियण्ट भेटिएपछि थप प्रतिबन्धको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन – हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ । प्राप्त समाचारहरुमा बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको हो । त्यस्तै बेलायत आउने अरु देशका उडानहरुमा पनि निगरानी बढाइएको छ ।

बेलायत आउने हरेक यात्रुले दुई दिनमात्र यताको स्वास्थ्य रिपोर्ट अनिवार्यरुपमा देखाउनुपर्ने र बेलायत पुगेपछि पनि पीसीआर परीक्षण गरिनेछ । यसरी गरिएको परीक्षणमा यदि कोरोना भाइरस ‘पोजिटिभ’ देखिएमा आफैं आइसोलेसनमा बस्नुपर्ने र नेगेटिभ रिपोर्ट आएपछिमात्र बाहिर निस्किन पाउने बताइएको छ ।

हालै अफ्रिकामा देखिएको भनिएको नयाँ भाइरस बेलायतमा देखिएको कुरा यहाँका स्वास्थ्यमन्त्री सजिद जाभिदले शनिबार जानकारी दिएका छन् । यो भाइरसको सङ्क्रमण देखिएका दुई जनालाई आइसोलेसनमा राखिएको र उनीहरुको थप स्वास्थ्य अनुसन्धान जारी रहेको पनि उनले बताएका छन् । बेलायतका प्रधानमन्त्रीले यो भाइरसको प्रभाव अहिलेको भन्दा निकै खतरनाक रहेको भन्दै थप प्रतिबन्धहरुका बारेमा जानकारी दिएको हो ।

उनले हाललाई विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइने र यात्रुहरुको पीसीआर परीक्षणलाई अनिवार्य गरिने जानकारी दिएका हुन् ।साथै, बेलायतमा यात्राका क्रममा तथा सार्वजनिक यातायातमा अनिवार्यरुपमा मास्कको प्रयोग गर्नुपर्ने नियम पनि सार्वजनिक गरिएको बताइएको छ ।