काठमाण्डु – नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैनिक तालिम ‘अभ्यास टेक नेल–२२’ सम्पन्न भएको छ । गत कात्तिक १५ गतेबाट सुरु भएको उक्त तालिम मंगलबार छाउनीमा आयोजित कार्यक्रममा बलाध्यक्ष रथी सरोज प्रताप राणाले समापन गरेका हुन् ।
संयुक्त तालिममा नेपाली सेनाबाट विपद् व्यवस्थापनमा खटिदै आइरहेको डिजास्टर एसेसमेन्ट एन्ड रेस्पोन्स टिमबाट ४५ जना र अन्य सम्बद्ध निकायहरुबाट ४ जना गरी ४९ जनाको उपस्थित रहेको थियो । अमेरिकी सेनाका १७ सहित ६६ जनाको सहभागिता रहेको उक्त संयुक्त तालिम काठमाण्डु, पोखरा र अन्नपुर्ण वेस क्याम्प इलाकामा सञ्चालन भएको थियो ।
तालिममा शिक्षार्थीहरुलाई जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको नेपाली सेनाले जनाएको छ । मंसिर ११ गते पोखरामा सञ्चालन भएको कुल्मिनेटिङ अभ्यासको बलाधिकृत रथी बालकृष्ण कार्कीले समेत निरीक्षण गरेका थिए ।
‘यस किसिमको संयुक्त तालिमबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजहरुमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धार सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक क्षमता अभिवृद्धि हुनुको साथै दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।
समापन कार्यक्रममा बलाध्यक्ष रथी सरोज प्रताप राणा, अमेरिकी राजदूत ¥यान्डी बेरी, सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी निरन्जन कुमार श्रेष्ठ, युद्धकार्य विभागका प्रमुख उपरथी निर्मलकुमार थापालगायतको उपस्थिती थियो ।




प्रतिक्रिया