काठमाण्डु – कोरोना भाइरस संक्रमण बढ्न थालेपछि चीनको सियान सहरमा निषेधाज्ञा लगाइएको छ । स्थानीय समयानुसार बुधबार मध्यरातदेखि सो सहरमा सरकारले निषेधाज्ञा लागू गरेकाे हो ।
यो प्रतिबन्धात्मक व्यवस्था कहिलेसम्म कायम रहन्छ भन्ने खुलाइएको छैन । डिसेम्बर ९ यता सो सहरमा १४३ जनामा कोभिड पुष्टि भएको छ । निषेधाज्ञासँगै उक्त सहरमा दिन बिराएर प्रत्येक घरबाट एक जना आवश्यक सामग्री किन्न घरबाहिर जान पाउने जनाइएकाे छ ।
साथै, सरकारले महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षणलाई पनि प्रश्रय दिएको छ । सियानवासीहरू विशेष परिस्थतिमा बाहेक तथा अधिकारीहरूबाट अनुमति नलिई सहरबाट अन्यत्र जान पाउनेछैनन् । लामो दूरीका बस स्टेशन बन्द भइसकेका छन् भने सहरतर्फ जाने मार्गमा जाँचचौकी बनाइएको छ ।
सियान विमानस्थलबाट हुने धेरै उडान पनि स्थगित गरिएको छ । अत्यावश्यक बाहेक व्यापार व्यवसाय बन्द भएका छन् । त्यसैगरी, सरकारी कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ ।




प्रतिक्रिया