काठमाण्डु – महानगरीय ट्राफिक महाशाखाले आज देखी ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ ।
महाशाखाले शुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्ने गरेको थियो । पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रबिधीमैत्री बनाउदै बिभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ्, डिजीटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक सँस्थाहरु र क्यूआर भूक्तानीबाट समेत जरिवाना तिर्न सकिने प्रणाली संचालनमा छन् ।
बुधबार एक कार्यक्रमका बिच ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रबिधी “प्रभु-पेको किअस्क मेसिन” उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रबिधीमैत्री बनाउदै आम सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताए । उनले किअस्क मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिन्छ, यसले बैंकमा गएर लामो समय लाईनमा बस्ने झन्झटबाट मुक्त हुने र समयको समेत वचत हुने धारणा व्यक्त गरे ।
उनले आम सेवाग्राहिको सहजताको लागी किअस्क मेसिन जडानको लागी प्रभु-पेलाई हार्दिक धन्यबाद दिँदै थप ट्राफिक कार्यालयहरुमा सेवा बिस्तार गर्न समेत सहयोग हुने अपेक्षा व्यक्त गरे । ट्राफिक महाशाखाले जरिवाना भुक्तानी गर्ने प्रबिधीहरुलाई क्रमश परिस्कृत गर्दै आजैदेखी मेसिनमा नगद प्रयोग गरि जरिवाना तिर्न सकिने सेवा शुरु गरेको छ ।
प्रभु-पेका अध्यक्ष कुसुम लामाले ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गरि किअस्क मेसिन जडान गरि सेवा बिस्तार गर्न पाउदा खुशी व्यक्त गरे । उनले यो मेसिनले बैंकिङ् कारोबार बन्द भएको समयमा समेत सेवा दिने हुनाले ट्राफिक जरिवाना तिर्ने सेवाग्राही बढि लाभान्वीत हुने समेत बताए ।




प्रतिक्रिया