२० वर्षदेखि न्याएको खोजिमा

२० वर्षदेखि न्याएको खोजिमा


काठमाण्डु – मुक्तिनाथ अधिकारीको निर्ममतापूर्वक हत्या भएको २० वर्ष पुरा भएको छ । चन्दा नदिएको आरोपमा २०५८ माघ ३ गते लमजुङमा तत्कालीन माओवादीका कार्यकर्ताले निर्ममतापूर्वक अधिकारीको हत्या गरेका थिए । हत्याको अनुसन्धानको माग गर्दै अधिकारी परिवारले नेपालमा उपलब्ध न्यायका सबै ढोकाहरू ढकढकाए तर केही लागेन । २० बर्ष पुग्दा समेत अधिकारी परिवारले न्यायका लागि संघर्ष गरिरहनु परेको छ ।

घटना कसरी भयो ?
अधिकारी लमजुङ जिल्लाको दुराडाँडास्थित पाणिनी संस्कृत विद्यालयका शिक्षक थिए । विद्यालयको प्रधानाध्यापक भएको धेरै समय भएको थिएन । २०५८ माघ ३ गते दिउँसो १ बजेतिर मुक्तिनाथ अधिकारी कक्षा ९ मा विज्ञान पढाउँदै थिए । त्यति नै बेला माओवादी पार्टी, लमजुङ जिल्ला समिति सदस्यको नेतृत्वमा आएको टोलीले ‘सर दुई मिनेट काम छ’ भनेर कक्षाबाट तानेर बाहिर लगे ।

विद्यार्थीको अनुनय विनय पर्वाह नगरी टोलीले मुक्तिनाथलाई डाँडाको टुप्पोमा लगे, र मकैबारी कान्लाछेउ कञ्चटमा गोली हानी मारे । त्यसपछि उत्तिसको बोटको फेदमा उनकै कपडाले बाँधेर ठड्याइदिए । यसरी अन्त्य भयो विद्यालय स्तरउन्नतीको सपना । उनी निमित्त प्रधानाध्यापक रहँदा माओवादीले शिक्षकको २५ प्रतिशत दशैँ पेस्की माग गरेका थिए ।

अधिकारीले त्यसमा असहमति जनाएपछि माओवादीहरू रूष्ट भएको छोरा सुमन अधिकारी बताउँछन् । हत्या भएको २० वर्ष पुग्दासम्म न पीडितले न्याय पाएका छन् न त दोषीमाथि कारबाही हुन सकेको छ । अधिकारी जस्तै अन्य द्वन्द्वपीडितहरू पनि न्यायका लागि वर्षौदेखि भौतारिइरहेका छन् । न्याय दिलाउन भनी गठन भएका दुई आयोगहरू पीडितलाई न्याय दिलाउन भन्दा पनि पीडकलाई चोख्याउन दलीय स्वार्थमा काम गरिरहेको द्वन्द्वपीडितको आरोप छ ।