बडुवालको हत्या गर्ने समूहले मेजर शाहीमाथि किन गरेका थिए आक्रमण ?


काठमाण्डु – नेपाली सेनाको सुदूरपश्चिम तालिम शिक्षालयका सेनानी (मेजर)अशोक शाहीलाई बर्खास्त गरिएको छ । सैनिक आचरण विपरित कार्य गरेपछि उनलाई सैनिक ऐन अनुसार जंगी अड्डाले बर्खास्त गरेको हो।

गत कात्तिक २१ गते राति ११ बजेतिर मेजर शाहीले प्रदेश ०१–००२६च ३४६१ नम्बरको गाडी लिएर चिसापानी बजार पुगेका थिए । चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावलका छोरा लगायतले मेजर शाहीको गाडि तोडफोड गरेका थिए । रावलका छोरा लगायतले आक्रमण गर्दा मेजर शाहीको टाउकोमा चोटलाग्दा १६वटा टाँका लगाउनु परेको थियो ।

सेनानी शाहीमाथि आक्रमण गर्ने नविन रावल, महेश रावल लगाएतको टोलीले केहि दिनपछि चक्कु प्रहार गरि कैलालीको लम्की चुहा नगरपालिका –१ का २२ वर्षीय भुपेन्द्र बडुवालको हत्यागरेपछि मेजर शाही विरुद्ध आक्रामक बनिरहेका स्थानीयपनि बडुवालको हत्यापछि मेजरकै पक्षमा उभिएका थिए । उक्त घटनाको अनुसन्धानका लागि तत्काल कोर्ट अफ इन्क्वाइरी गठन भएको थियो । लामो छानबिन र अनुसन्धानपछि शाही दोषी देखिएपछि छानबिन समितिको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरिएको हो ।

सैनिक प्रवक्ता सहाकयरथी नारायण सिलवाले सैनिक अनुशासन विपरीत कार्य गरेको ठहर गर्दै सेनाको कोर्ट मार्सलले उनलाई बर्खास्त गरेको बताए । त्यस्तै उनले सम्बन्धितलाई चित्त नबुझेको खण्डमा सैनिक ऐनले दिएको मौका प्रयोग गरी फैसला सारेर कुन अदालतमा जाने भन्ने व्यक्तिमा भर पर्ने बताए । सम्बन्धितले कानुनले दिएको अधिकार भरपुर रुपमा प्रगोग गर्न पाउने समेत बताए ।

सैनिक स्रोतका अनुसार सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले गत पुस ३ गते मेजर शाहीलाई दोषी ठहर गर्दै बर्खास्त गरेको थियो । सेनानी शाहीमाथि ज्यान मार्ने उद्देश्यबाट आक्रमण भयो।त्यहि टोलीले भोलिपल्ट कैलालीमा भूपेन्द्र बडुवालको हत्या गरेका थिए। तैपनि संगठनले यो वास्तविकता बुझेन । बरु थप पीडा दिने गरी मेजर साबमाथि नै कारबाही भयो, एक सैनिक अधिकृतले भने,।

यस्तो थियो घटना
कार्तिक २१ गते, कैलाली लम्कीचुहास्थित रुद्रध्वज गणको सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा कार्यरत मेजर शाहीलाई भेट्न उनको परिवार ब्यारेकमै आइपुगेको थियो । रातको करिब १० बजेतिर श्रीमती र छोरासँगै डिनर गरेका थिए । भोलिपल्ट बिहानै परिवारलाई घर पठाउनु थियो। त्यसैले परिवारलाई गाडीको व्यवस्था गर्न निजी कार चढेर सोही रात मेजर शाही चिसापानी बजार पुगेका थिए। गणमा कार्यरत सिपाहीलाई पनि उनले साथमै लिएर गएका थिए।

गाडी व्यवस्थापनका लागि शाहीले चिसापानीस्थित लुक होटलका सञ्चालकलाई दिउँसै फोनमा आग्रह गरेका थिए। तर, साँझ सञ्चालकको फोन नलागेपछि भेटेरै ’कन्फर्म’ गर्ने भनेर मेजर राति नै चिसापानीतिर लागेका थिए । तर, जब उनी होटलको रोड साइडतिर पुगे, समयले नेटाे काटिसकेकाे थियो। हाेटलका सटरहरु बन्द थिए। पुग्नुपर्ने लुक होटल थियो, तर पछाडिबाट पनि बाटो छ कि भनीखोज्दै जाँदा झुक्किएर संगम होटल पुगे ।

होटलभित्र पुग्दा चार जना मदिरा सेवन गरिरहेका थिए। मेजर शाहीलाई देखेपछि कसैले चर्को स्वरमा सोध्यो– ‘को हो यो आउने?’ उनले जवाफ दिए, ‘यो लुक होटल होइन र? साहु कहाँ हुनुहुन्छ?’ त्यही क्रममा मदिराको तालमा रहेका साहु हर्कबहादुर रावल र मेजरबीच बादबिवाद सुरु भयो । हल्ला छरछिमेकसम्म पुग्यो। होटलभित्र रहेका चारमध्ये धीरज शाही र लवशाहीले मेजरलाई चिन्थे। उनीहरुले नै शाहीलाई गेटसम्म पु¥याएर होटलको सटर बन्द गरे। यतिबेलासम्म मेजर शाहीले कुनै लफडा नहोस् भनेर आफूसँग गएका दुवै सैनिकलाई पालैपालो प्रहरी बोलाउन नजिककै प्रहरी कार्यलय पठाएका थिए।

प्रहरी नआइपुगेपछि मेजर शाही आफ्नै गाडीमा शिक्षालयको गेटसम्म पुगे। त्यहाँ ड्युटी गरिरहेका गार्डलाई गाडीमा बसाएर पुनःचिसापानी फर्किए। रातको साढे ११ बजिसकेको थियो। आफूले लिएर आएका दुवै सैनिक प्रहरी कार्यालयबाट नफर्किएपछि मेजर शाहीले आफूलाई असुरक्षित महसुस गरेर, त्यही कारण गेटमा हतियारसहित ड्युटी गरिरहेका गार्डलाई आफूसँग लिएर आएको बयान दिएका छन्।

प्रहरी स्रोतकाअनुसार त्यतिबेला जब शाही पुनःचिसापनी पुगे, स्थानीयको एक हुल त्यहाँ जम्मा भइसकेको थियो। उनको गाडी देख्नासाथ स्थानीयले तोडफोड सुरु गरिहाले। त्यतिबेला स्थानीयको आरोप अनुसार मेजर शाहीले गार्डले बोकेको राइफल खोसेर ताकेका थिए। तर, मेजर शाहीले कोर्ट अफ इन्क्वायरीसँगको बयानमा त्यो स्वीकारेका छन्।

इलाका प्रहरी कार्यलय लम्कीको टोली घटनास्थल पुग्दा मेजर शाहीको टाउकोमा गहिरो चोट लागिसकेको थियो। मेजर शाहीले छानबिन टोलीलाई दिएको बयानमा आफू प्रहरी कार्यालय जाँदै गर्दा स्थानीयले ढुंगा प्रहार गरेकाले आफ्नो टाउको फुटेको बताएका छन्।त्यसपछि टाउकोमा उनले १६ टाँका नै लाउनु परेको छ। त्यति मात्रै होइन, आक्रमणको क्रममा आफ्नो घाटीमा भएको ५ तोलाको सिक्री समेत हराएको मेजर शाहीको आरोप थियो।

तर, सैनिकमुख्यालय मौन रहेन। मुख्यालयले मेजर शाहीविरुद्ध महासेनानी इन्दिबर विष्टको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी नै गठन गरेर उनीमाथि छानबिन थाल्यो । समरी जनरल सैनिक अदालतले गत पुस ३ गते मेजर शाहीलाई दोषी ठहर गर्दै सेवाबाट हटाउने फैसला गर्याे।

प्रतिक्रिया दिनुहोस
Advertisement