काठमाण्डु – हिंसात्मक अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न नागरिक समाजले अपिल गरेको छ ।
डा. केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले शुक्रबार संयुक्त रुपमा अपिल जारी गर्दै मन्त्री यादवलाई पदमुक्त गर्न आग्रह गरेका हुन् ।
‘मन्त्री रेणु यादवले माघ ५ गते रौतहटको गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्तिहत्या र सामाजिक हिँसा फैलाउने अभिव्यक्ति दिएकोप्रति हामी गम्भीर आपत्ति व्यक्त गर्दछौं,’ उनीहरूले जारी गरेको अपिलमा उल्लेख छ ।
अपिलमा भनिएको छ, ‘चर्चित ‘गौर हत्या काण्ड’ २०६३ चैत ३ गते तत्कालीन मधेसी जनअधिकार फोरमको अग्रसरतामा घटाइएको सामूहिक हत्या थियो, जसमा २८ जना माओवादी समर्थक व्यक्तिहरुले अनाहकमा जीवन गुमाउनुपरेको थियो ।
मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) को नाम लिएर राउतलाई गौर हत्याकाण्ड जसरी नै घेरा हाली ज्यान लिने धम्की दिएको तथ्यसमेत प्रमाणित हुने श्रव्य-दृश्य सामग्री सार्वजनिक भएको उल्लेख गर्दै मन्त्री पदको गरिमालाई नसुहाउने, आपराधिक मनोवृत्ति प्रष्ट पार्ने, पुरानो अपराध समेत सार्वजनिक रूपमा स्वीकार गर्ने रेणु यादव जनताप्रति उत्तरदायी कुनैपनि पदमा रहन अयोग्य भएको स्वत: स्पष्ट हुने नागरिक अगुवाको भनाइ छ ।




प्रतिक्रिया