काठमाण्डु – काठमाण्डु उपत्यकामा शुक्रबार रातिदेखि यातायातका साधनमा जोरबिजोर लागू हुँदैछ । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालय प्रमुखहरुले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै सार्वजनिक र निजी सवारी साधनहरु (दुई पांग्रेसहित) का यातायातका साधनमा आज रातिदेख जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेका हुन् ।
जसअनुसार जोर गते जोर र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन हुनेछन् । तर काठमाण्डु प्रशासनले शुक्रबार जारी गरेको थप आदेशमा औषधि एवम् स्वास्थ्य सामग्री बोकेका सवारीसाधनसहित, एम्बुलेन्स दमकल, शवबाहनमा जोरबिजोर लागू नहुने उल्लेख छ ।
यस्तै ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न, दूध, फलफूल तरकारी बोकेका सवारी साधनमा पनि जोर बिजोर लागू हुने छैन भने चिकित्सक, सुरक्षाकर्मी, बैंकका कर्मचारीको हकमा पनि जोरबिजोर लाग्ने छैन । यस्तै पत्रकारको हकमा सूचना विभागबाट जारी भएको प्रेस पास देखाएर सवारी साधन सञ्चालन गर्न पाइने सूचनामा उल्लेख छ ।





प्रतिक्रिया