काठमाण्डु – पर्यटन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशकको जिम्मेवारी कनिष्ठलाई दिइएको भन्दै विवाद उत्पन्न भएको छ । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गत पुस २५ मा उमेर हदका कारण अवकास पाएपछि पर्यटन मन्त्रालयले प्रेमनाथ ठाकुरलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको थियो ।
ठाकुरभन्दा अगाडी पांच जना सिनियर हुंदा हुंदै उनलाई निमित्त महानिर्देशक बनाइएपछि प्राधिकरणमा त्यसको चर्को विरोध भएको हो । उनिभन्दा सिनियर उपमहानिर्देशकहरु भोलाप्रसाद गुरागाईं, प्रतापबाबु तिवारी, हंशराज पाण्डे, देवचन्दलाल कर्ण र गोविन्दप्रसाद दाहाल छन् । तर, पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा ठाकुरलाई निमित्तको जिम्मेवारी दिएपछि उनिहरु त्यसमा असन्तुष्टि जनाएका हुन । ठाकुर दुई महिनाअघि मात्र १२ औं तहमा बढुवा भएका थिए ।
आलेले बतास अर्गनाइजेशनले ठेक्का पाएको नारायणहिटी परिसरको संरचना भत्काउने निर्णय गरेपछी उनको चर्चा चुलिएको थियो । तर, पछिल्लो समय उनले चर्चामा आउन मात्रै स्टन्ट गरेको तर नीतिगत सुधारमा ध्यान नदिएको भन्दै उनको आलोचना हुन थालेको छ ।
आलेले ठाकुरलाई आर्थिक लाभ लिएर बढुवा गरेको पर्यटन मन्त्रालय स्रोतले दावी गरेको छ । ‘पांच जना सिनियरलाई पाखा लगाएर एक महिना अघि बढुवा भएकालाई निमित्त महानिर्देशक बनाउनुको कारण के होला भनेर बुझनु न ।’ मन्त्रालय स्रोतले काठमाण्डुलाई भन्यो ।
स्रोतकाअनुसार उनका स्वकिय सचिव हेमन्त रेग्मीले महानिर्देशक बनाउन सुरुमा प्रतापबावु तिवारीसंग कुरा अगाडी बढाएका थिए । पछि कुरा नमिलेपछि ठाकुरलाई जिम्मेवारी दिइएको हो । जवकी वरियताका आधारमा तिवारी वा गुरागाईमध्ये एक जना महानिर्देशकका स्वभाविक हकदार हुन । यसबारेमा रेग्मीसंग जिज्ञासा राख्न खोज्दा उनले फोन उठाएनन ।
प्राधिकरणमा यसअघि पनि वरियताका आधारमा नै महानिर्देशक बनाउने चलन थियो । प्राधिकरणका तत्कालिन महानिर्देशक राजन पोखरेलपछि राजकुमार क्षेत्री वरियताका आधारमा निमित्त महानिर्देशक बनेका थिए । पछि उनि महानिर्देशक बनेका थिए ।
प्राधिकरण महानिर्देशक नियुक्त गर्ने काम प्राधिकरण सञ्चालक समितिले गर्छ । जसको अध्यक्ष विभागीय मन्त्री छन् भने समितिमा पर्यटन, अर्थ मन्त्रालयका पदाधिकारी र पर्यटन, उद्योग व्यवसायमा अनुभव भएका निजी क्षेत्र वा संस्थाका एक जना प्रतिनिधि र नागरिक उड्डयन क्षेत्रका दुई जना विशेषज्ञ रहने प्रावधान छ ।
तर, आलेले ठाकुरलाई नै महानिर्देशक बनाउने तयारी गरेका छन् । त्यसका लागी नै उनले अहिले नै निमित्तको जिम्मेवारी दिएका हुन ।
पर्यटनमन्त्री आलेले पछिल्लो समय कर्मचारीको सरुवा बढुवा र पुर्ववर्ती मन्त्रीहरुले गरेका गल्ती खोज्ने काम गरेको तर, नितिगत काममा ध्यान नदिएको आरोप लागिरहेको छ । उनी मन्त्री भएसंगै पर्यटन बोर्डका कार्यकारी अधिकृत, नेपाल वायु सेवा निगमका महाप्रवन्धकसंगको उनको विवाद बढेको छ । वायु सेवा निगमलाई उकास्न अहिलेसम्म आलेले कुनै योजना ल्याउन सकेका छैनन । निगम ४९ अर्बभन्दा बढी ऋणमा डुबेको छ । अर्थमन्त्रालयले थप रकम दिन आनाकानी गरिरहेको छ भने कर्मचारी संचयकोष र नागरिक लगानी कोषमा व्याज समेत बुझाउन नसक्दा निगमलाई समस्या परेको छ ।
त्यतिमात्र होईन उनले पछिल्लो समयमा नयां क्यासिनोलाई धमाधम लाइसेन्स बाड्ने काम समेत गरेका छन् । उनले लाइस्ेन्स दिने निर्णय समेत मन्त्रीस्तरीय निर्णयबाटै गर्दै आएका छन् । मन्त्री आलेकै सक्रियतामा क्यासिनो भेगास,क्यासिनो बेल्लिज,नेपालगंजमा भेन्यु रिक्रियसन र केपीएफ इन्टरटेनमेन्टलगायतलाई नयां लाइसेन्स दिएका छन् ।




प्रतिक्रिया