काठमाण्डु – नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको ११७ औं स्थानमा रहेको अध्ययनले देखाएको छ । भ्रष्टाचारसम्बन्धी सूचकांक निकाल्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको २०२१ को प्रतिवेदनमा नेपाल बढी भ्रष्टाचार हुने मुलुकमा समावेश भएको हो ।
ट्रान्सपरेन्सीले सार्वजनिक गरेको सूचकांकअनुसार गत वर्ष भ्रष्टाचारमा नेपालले ३३ अंक पाएको छ । कम भ्रष्टाचार हुने मुलुकको क्रमशः तथ्यांक जारी गर्दा ट्रान्सपरेन्सीले नेपाललाई ११७औँ स्थानमा समावेश गरेको छ । गत वर्ष पनि नेपालको स्थान यति नै थियो । यसको अर्थ नेपालको भ्रष्टाचार अवस्था नसुध्रिएको ट्रान्सपरेन्सीले जनाएको छ ।
‘गत वर्ष पनि यस सूचीमा नेपालको अंक ३३ (११७औँ स्थान) नै रहेको थियो । यसअनुसार नेपाल भ्रष्टाचारव्याप्त मुलुकहरूको श्रेणीमै रहेको छ,’ ट्रान्सपरेन्सीले भनेको छ । अघिलो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिने संस्थाले जनाएको छ ।
ट्रान्सपरेन्सीले एक सय ८० देशको भ्रष्टाचारको अवस्था अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । ५० भन्दा कम अंक पाउनेलाई ट्रान्सपरेन्सीले बढी भ्रष्टाचार हुने मुलुक मान्छ ।
त्यस्तै सूचकांकअनुसार गत वर्ष डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा सूचीकृत भएका छन् । ती मुलुकले सयमा ८८ अंक पाएका छन् । सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दक्षिण सुडान रहेको छ । ११ अंकसहित उक्त देश १८०औँ स्थानमा छ ।




प्रतिक्रिया