भिजिट भिसामा सेटिङको आशंकामा अध्यागमन कार्यालयका ९ जना अधिकृतलाई फिर्ता बोलाईयो

भिजिट भिसामा सेटिङको आशंकामा अध्यागमन कार्यालयका ९ जना अधिकृतलाई फिर्ता बोलाईयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ९ जना अधिकृतलाई फिर्ता बोलाएको छ । सेटिङ गरेर पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा)मा मलेसिया र खाडी मुलुक जाने यात्रुहरुको संख्या बढेपछि उनिहरुलाई मिलेमतोको आशंकामा फिर्ता बोलाइएको हो ।

गृह मन्त्रालयले शाखा अधिकृतहरु अच्युत केसी,पुष्पराज शर्मा,नयन्द्र कुमार पौडेल, अबिलास राई, रामप्रसाद ओली, दिपककुमार आचार्य, हेमराज जोशी, मौसम ढुंगेल र यम बहादुर भट्टराईलाई फिर्ता बोलाएको स्रोतले जनाएको छ । तिमध्ये आचार्य,जोशी र ढुंगेलले भने आफै सरुवा मागेको बताइन्छ ।

त्रिभुवन विमानस्थल हुंदै पछिल्लो चार महिना भिजिट भिसामा धेरै नेपालीहरुलाई मानव तस्करहरुले खाडी मुलुक पुगाएको गुनासो छ । त्यसमा अध्यागमनका केही अधिकृतहरुको मिलेमतोको आशंका छ । उनिहरुमाथी विभागले छानविन समेत गरिरहेको छ ।

मन्त्रालयले भिजिट भिसाका नाममा मानव तस्करी भइरहेको भन्दै भिजिट भिसामा खाडी मुलुक जान बन्द गर्ने निर्णय गरेको थियो । पछि फेरी उक्त निर्णयमा संशोधन गरेर भिजिट भिसामा जान पाउने मापदण्ड बनाइएको थियो ।

गृह मन्त्रालयले भिजिट भिसामा मलेसिया र खाडी मुलक पुगेका नेपालीले दुख पाएको गुनासोपछि सहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा अध्ययन समिति गठन गरेको छ। समितिले ठोस योजना मन्त्रालयलाई पेश गर्नेछ । विमानस्थलमा लाइन खुला भएको भन्दै त्यसमा सेटिङको आशंका गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसमा सचेत रहन गृह नेतृत्वलाई निर्देशन दिएको बताइन्छ ।

गृह मन्त्रालयले बिहीबार मानवतस्करलाई सहयोग गरेको आरोप उनिहरुलाई फिर्ता बोलाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत त्यसमा छानविन गरिरहेको बुझिएको छ । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले केही दिन अघि स्थलगत अनुगमन समेत गरेका थिए । यसअघि अध्यागमन विभागले कुशल बराल, विनोद कुमार दत्त र विष्णु सहनीलाई फिर्ता बोलाएको थियो ।

एयरपोर्टमा सेटिङको समाचार सार्वजनिक भएसंगै कर्मचारीहरुलाई विभागले कडा नियम बनाएको छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीलाई कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गर्न निर्देशन दिइसकेको छ । अध्यागमन विभागका महानिर्देशकको निर्देशनपछि विमानस्थल कार्यालयका प्रमुख पुष्पराज शाहीले उक्त निर्णय गरेका हुन ।