काठमाडौँ । काठमाडौँको सानो भ-याङ्स्थित स्वास्तिश्री गुरुकुलले ‘आइबी वल्र्ड स्कुल’को मान्यता प्राप्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको भर्चुअल सहभागितामा आज गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’ घोषणा गरिएको हो ।
आइबी (अन्तर्राष्ट्रियस्तर) को मान्यता प्राप्त भएसँगै उक्त स्कुल आजैदेखि ‘स्वस्तिश्री गुरुकुल आइबी वल्र्ड स्कुल’ को नामबाट सञ्चालन भएको छ । यो अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रममा आधारित रहेर विद्यालयलाई दिइने उपाधि हो । नेपालमा योसँगै चारवटा विद्यालयले मात्र उक्त मान्यता पाएका जनाइएको छ । यहाँ आज भएको घोषणा कार्यक्रममा छोटो समयमै उक्त मान्यता प्राप्त गर्ने र काठमाडौँ जिल्लाको पनि पहिलो विद्यालय भएको दाबी गरिएको छ ।
समारोहमा स्वस्तिश्री नेपाली भाव र संस्कृति तथा अन्तर्राष्ट्रियस्तरको शिक्षाको सम्मिश्रणबाट विश्वस्तरीय गुणस्तरयुक्त शिक्षा नेपालमा नै प्रदान गर्ने उद्देश्यले तीन वर्षअघि स्थापना भएको जानकारी गराइएको थियो । विसं २०७६ मा स्थापना भएको गुरुकुलले पहिलो वर्ष मन्टेश्वरी, दोस्रो वर्ष एकैसाथ शून्य विद्यार्थीबाट कक्षा १० सम्म स्कुल सञ्चालन गरेकामा चालु शैक्षिकसत्र अर्थात् तेस्रो वर्षदेखि ११ सम्मको कक्षा सञ्चालन गर्दै आएको छ ।
विश्वस्तरीय भौतिक पूर्वाधारसहितको नवनिर्मित भवनमा आधुनिक शैक्षिक प्रणाली र विद्यार्थीको रुचिअनुसारको गुणस्तरयुक्त तथा विद्यार्थीमैत्री पठनपाठन हुँदै आएको, कक्षा कोठा, पठन पद्धति, विद्यार्थीको सिकाइ, भौतिक पूर्वाधारलगायतका आधारमा झन्डै डेढ वर्षको अध्ययन अनुसन्धानपछि मात्रै गुरुकुलले विश्वस्तरको मान्यता प्राप्त गरेको विद्यालयले जनाएको छ ।




प्रतिक्रिया