अस्पताललाई युद्धभूमि बनाई अपहरण शैलीमा काठमाडौँ ल्याइयो : डा. केसी

अस्पताललाई युद्धभूमि बनाई अपहरण शैलीमा काठमाडौँ ल्याइयो : डा. केसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- डा. गोविन्द केसीले आफूलाई इच्छाविपरित अपहरण शैलीमा बल प्रयोग गरेर जुम्लाबाट काठमाडौं ल्याइएको बताएका छन्। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसनरत डा. केसीलाई सरकारले अस्पताल परिसरभित्रै प्रहरी परिचालन गरेर जबर्जस्ती काठमाडौं ल्याएको थियो।

सेनाको हेलिकप्टरमा काठमाडौंको टुँडिखेल ओरालेर टिचिङ अस्पताल लगिएका डा.केसीले त्यहीँबाट प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ज्यादतीपूर्ण व्यवहारको भर्त्सना गरेका छन्।

चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रह आन्दोलन थालेका केसीले विज्ञप्तिमा भनेका छन्, खड्गप्रसाद ओली नेतृत्वको वर्तमान सरकारले मलाई अमानवीय रूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छाविपरित अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको छ।

सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमा रहेका नेपालीहरूप्रति उनले आभार प्रकट गरेका छन्। सरकारको ज्यादतीबाट घाइते सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको उनले कामना गरेका छन्। ज्यादतीमा संलग्न दोषीहरूलाई कारबाहीको माग पनि गरेका छन्।

“माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने जानकारी गराउँछु,” उनले भनेका छन्, आम नागरिकलाई सदाजस्तै ऐक्यबद्धताको लागि हार्दिक आह्वान गर्दछु।