निर्वाचन लक्षित बजेटबारे गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच छलफल

निर्वाचन लक्षित बजेटबारे गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच छलफल


काठमाण्डु – गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ । बुधबार गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच निर्वाचन लक्षित बजेट सम्बन्धि छलफल भएको हो ।

स्थानीय तहको निर्वाचन लक्षित बजेटमा विशेष गरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि अत्यावश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे छलफल भएको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव डा. भिष्मकुमार भूसालले बताए  ।

स्थानीय तह निर्वाचन सुरक्षाका लागि गृहमन्त्रालयले साढे १९ अर्ब रुपैयाँ बजेट मागेको थियाे। तर उक्त परिमाणको बजेट दिन नसकिने भन्दै आकार घटाएर ल्याउन अर्थमन्त्रालयले आग्रह गरेको छ। सहसचिव डा. भूसालका अनुसार अब गृह मन्त्रालयले बिहीवारसम्म चालूतर्फको समेत बजेट यकीन गरेर अर्थ मन्त्रालयमा पठाउने छ ।

गृहमन्त्री खाणको पहलमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, योजना महाशाखा प्रमुख डा. भूसालसहित सम्बन्धित महाशाखाका कर्मचारीहरू सहभागी थिए ।