काठमाण्डु – वनमन्त्रालयले राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव र सदस्यको नियुक्ति प्रक्रियामा प्रश्न उठाएको छ । वनमन्त्री रामसहायप्रसाद यादवको निर्देशनमा मन्त्रालयले कोष पदाधिकारीको नियुक्ति प्रक्रियामा अपनाइएको मापदण्ड र प्रयोग भएको योग्यताको कागजातसमेत पेस गर्न कोषलाई निर्देशन दिएको हो ।
कोषमा शरद अधिकारी सदस्य सचिव छन् । उनलाई तत्कालिन केपी शर्मा ओली नेृतत्वको सरकारले सदस्य सचिव नियुक्त गरेको थियो । माओवादी केन्द्रका नेता समेत रहेका वनमन्त्री शक्ति वहादुर बस्नेतले जांदा जांदै उनलाई सदस्य सचिवमा नियुक्त गरेका थिए । यद्यपी उनको नियुक्तिका लागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनाललगायतको सिफारीस थियो ।
मानविकीका विद्यार्थी रहेका अधिकारी यसअघि कोषमै सामान्य कर्मचारी थिए । उनिसंग अख्तियार दूरुपयोग अनुसन्धान अनुसन्धान आयोगमा संचारविज्ञका रुपमा काम गरेको अनुभव मात्र थियो । कोषकै करार कर्मचारीलाई सदस्य सचिव बनाएसंगै कर्मचारीहरु उनिसंग असन्तुष्ट छन् ।
वन मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरूको मनोनयनसम्बन्धी मापदण्ड २०७३ मा कोषको सदस्यसचिव हुन मान्यता प्राप्त विश्वविद्यालयबाट वन विज्ञान, विज्ञान वा प्राकृतिक स्रोत व्यवस्थापन विषयमा स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा ५ वर्षको अनुभव भएको हुनुपर्ने उल्लेख छ । मन्त्री यादवले यसैलाई आधार बनाएर उनिहरुको नियुक्तीको प्रक्रिया र योग्यताको जानकारी मागेको स्रोत बताउंछ ।
अधिकारी सदस्य सचिव नियुक्त भएसंगै उनको कार्यशैली र कार्यसम्पादनलाई लिएर वन मन्त्रालय असन्तुष्ट छ । मन्त्रालयले उनलाई सहयोग नगरेपछी कोषको काममा समेत त्यसको प्रभाव परेको छ । कोषका कर्मचारीहरुले समेत सदस्य सचिव अधिकारीलाई हटाउन मन्त्री र सचिवलाई ज्ञापनपत्र नै बुझाइसकेका छन् ।
वन मन्त्रालयले यसअघि नै अधिकारीलाई पटक पटक स्पष्टिकरण सोधिसकेको छ । कोषको अध्यक्षको जिम्मेवारी भने डा.कृष्णप्रसाद ओलीलाई दिइएको छ । यसअघि प्रेम आले वनमन्त्री हुंदा ओलीलाई अध्यक्ष बनाइएको थियो । तर, त्यसभन्दा अघि भने वनमन्त्री नै अध्यक्ष बन्ने चलन थियो ।
कोषको संचालकहरुलाई एक साताभित्र कागजात पेस गर्न समय दिइएको छ । वनमन्त्री शाहले उनलाई हटाउन चाहेको निकट स्रोत बताउंछ । अधिकारी आएसंगै सञ्चालक समितिमा ३ जना नेपाली र २ जना विदेशी सदस्य थपिएका छन । थपिनेमा डा.शुभनारायण महतो, डा.विजयकुमार सिंह दनुवार, रेखा घिमिरे, डा. कास स्टोपलेलार र विलियम स्टोनोरसदस्य छन् ।





प्रतिक्रिया