काठमाण्डु- चीनले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न अमेरिकाले दबाव दिइरहेको आरोप लगाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिङले बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालमा अमेरिकाले ‘बलजफ्ती कूटनीति’ गरेको आरोप लगाए । उनले त्यसको विरोध गर्दै चीनले प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन ।
पिनले सहकार्यका नाममा धम्की कुटनीति गर्न नमिल्ने बताए । चिनको सरकारी संचार माध्यम ग्लोबल टाइम्सका पत्रकारले फेब्रुअरी २८ तारिख भित्र एमसीसी पारित नभए नेपाल अमेरिका सम्बन्ध प्रभावित हुन सक्छ भन्ने अमेरिकी अधिकारीहरुको भनाईबारे सोधिएको प्रश्नमा चीनको यस्तो भनाई आएको हो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले एमसीसीलाई लिएर नेपालमा भइरहेको विवाद पछाडी चीनको हात हुनसक्ने टिप्पणी गरेका थिए ।
नेपालमा एमसीसी सम्झौतालाई लिएर सत्तारुढ दलहरुको बीचमा समेत बिवाद छ । सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीलाई संशोधन विना संसदबाट पारित गर्न नसकिने अडानमा छन् । दुवै दलको अडानका कारण पांचदलिय गठबन्धन भत्किने अवस्थामा छ । अमेरिकाले भने सम्झौताअनुसार एमसीसी पारित गर्न दबाव दिंदै आएको छ । सत्तारुढ दलकै कार्यकर्ताहरु एमसीसीको विरोधमा सडकमा उत्रिएका छन् ।
चीनले समेत एमसीसी रोक्न भुमिका खेलेको अमेरिकी अधिकारीहरुले आरोप लगाउने गरेका छन् । मध्य तथा दक्षिण एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी फेब्रुअरी २८ भित्र एमसीसी पारित नभए अमेरिकाले नेपाल नीतिमा पुनर्विचार गर्ने चेतावनी दिएको समाचार सार्वजनिक भएको थियो ।
त्यतिमात्र होईन उनले शिर्ष नेताहरुसंगको कुराकानीमा सम्झौताको संसदीय अनुमोदन हुन नसके यसमा चिनियाँ दबाव रहेको अर्थमा आफूहरुले बुझ्ने धम्की समेत दिएका थिए ।
चिनियां विदेश मन्त्रालयका प्रवक्ता वेनबिङले अन्तर्राष्ट्रिय समुदायको नेपालसँग सहकार्य, नेपालको अर्थतन्त्र विकास र जीविकामा सुधारका लागि गर्ने सहयोगको चीनले स्वागत गर्ने बताएका छन् । तर, त्यो सहयोग नेपाली जनताको चाहना र राजनीतिक शर्त विना हुनुपर्ने उनको भनाई छ ।




प्रतिक्रिया